जाजरकोट- एक हप्तादेखि जाजरकोट अस्पतालमा विद्युत् नहुँदा समस्या भएको छ। अस्पतालमा जोडिएको साङटारिसाङ जलविद्युत् योजनाबाट उत्पादित विद्युत्को लाइन काटिएको र छिन्चु–जाजरकोट ३३ केभी विद्युत् लाइन नजोडिएका कारण एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध भएको हो।
३३ केभी लाइन विद्युत् जोड्न पटकपटक आग्रह गर्दा पनि कर्मचारीको अटेरीका कारण समस्या भएको जिल्ला अस्पतालले बताएको छ । जिल्ला स्वास्थ्य कार्यालय पनि एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध हुँदा समस्या भएको हो।
यसैगरी, यहाँको बारेकोट गाउँपालिका–२ का नन्दवीरे नेपालीको शव तीन दिनदेखि परीक्षण नहुँदा समस्या भएको छ।
स्वास्थ्यचौकी लिम्सामा डाक्टर नहुँदा दुई दिनदेखि नेपालीको शवलाई परीक्षण गर्न नसकिएको हो । फागुन २० गते स्थानीय नरेन्द्र घर्तीको मित लगाउने ठाउँमा गएर घर फर्कने क्रममा वडा–२ कै सेरीभिरबाट लडेर विकको फागुन २१ गते बेलुका मृत्यु भएको थियो।
दुई दिनदेखि विकको शव स्वास्थ्यचौकीमा ल्याएर राखिएको भए पनि चिकित्सक नहुँदा परीक्षण हुन नसकेको स्थानीय विष्णु ज्योतिले बताए। बारेकोट गाउँपालिकाको मुटुमा रहेको स्वास्थ्यचौकी लिम्सामा करिब एक महिनादेखि डाक्टर नहुँदा उपचारमा समेत समस्या हुँदै आएको छ।
दुईजना एमबिबिएस डाक्टरको दरबन्दी भएपनि हाल स्वास्थ्यचौकी डाक्टरविहीन हुँदा समस्या भएको ज्योतिले बताए। नलगाड नगरपालिकाको दल्ली स्वास्थ्यचौकीबाट डाक्टर लिएर परीक्षण गर्ने तयारी भएको ज्योतिको भनाइ छ।
बुधबार बेलुका माछा मारेर फर्कने क्रममा जाजरकोटको बारेकोट गाउँपालिका–८ का ४३ वर्षीय गोमे बुढाको पनि मृत्यु भएको छ। माछा लिएर घर फर्कने क्रममा गोलखारास्थित बाटोबाट लडेर नलगाड नदीमा परेपछि बुढाको मृत्यु भएको हो । साँघुरो बाटो भएकाले बुढाको लडेर मृत्यु भएको सक्लाका लोकेन्द्र गौतमले जानकारी दिए। रासस