प्रदेश ५ का सामाजिकक विकास मन्त्री सुदर्शन बरालले सरकारी अस्पतालबाट एलोप्याथिक उपचार सेवा मात्र नभई आयुर्वेदिक, होमियोप्याथिक र अकुपञ्चर सेवा पनि उपलब्ध गराउने बताएका छन्।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले भैरहवामा गरेको प्रदेश स्तरीय स्वास्थ्य सम्बन्धि समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा बन्त्री बरालले एउटै छातामुनी विविध उपचार सेवा उपलब्ध गराउने तयारी भइरहेको बताएका हुन्।
‘सरकारी अस्पतालबाट एलोप्याथिक मात्र होईन आयुर्वेदिक, होमियोप्याथिक, अक्कुपंञ्चर जस्ता सेवा उपलब्ध हुने व्यवस्था मिलाउने छौं,’ उनले भने, ‘एलोप्याथिक उपचार सहरमा र आयुर्वेदिक अस्पताल कुनाकाप्चामा भएको कारणले समस्या आइरहेको छ। अब यो अवस्थामा सुधार ल्याउने छौं।’ उनले प्रादेशिक स्वास्थ्य निति बनाएर सेवालाई अझै प्रभावकारी बनाइने बताए।
कार्यक्रममा मन्त्री बरालले प्रदेश ५ का जिल्लामा रहेका जडिबुटीहरुलाई संकलन गर्ने र आयुर्वेदिक औषधीमा आत्मनिर्भर बनाउने तरिकाले काम अघि बढाउने जानकारी दिए। उनले आम नागरिकमा स्वस्थ्यको पहुँच बढाउन स्वास्थ्यकर्मीको महत्वपूर्ण भुमिका रहेका भन्दै उनीहरुको क्षमता विकासमा पनि काम गर्ने बताए।
सामाजिक विकास मन्त्रालयका निमित्त सचिव मित्रमणि खनालले जनतालाई सेवा दिने विषयमा कुनै अन्यौलता नरहेको बताउँदै संघिय सरकारले निर्देशिका बनाउन ढिलाई गरेपनि प्रदेशस्तरीय मन्त्रीपरिषद्को बैठकबाट निर्णय गरी काम शुरु गर्न मुख्यमन्ीत्रले स्पष्ट निर्देशन दिएको बताए।