काठमाडौं– भेरी अञ्चल अस्पतालले डेक्सा स्क्यान तथा बोन हेल्थ अोस्टियोपोरोसिस क्लिनिकको सुरु गरेको छ। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उक्त सेवाको उदघाटन गरे।
यादवले भेरी अञ्चल अस्पतालको सेवालाई थप प्रविधियुक्त र प्रभावकारी बनाउन मन्त्रालयले प्रक्रिया अघि बढाएको बताए।
सोही क्रममा अस्पताललाई ५, ६ नं र कर्णाली प्रदेशको नागरिकको आवश्यकताका आधारका विस्तार गरिने बताएका छन्। “नेपालगञ्जमा एउटा ठूलो सुविधासम्पन्न अस्पताल आवश्यक रहेको बुझेर नै केन्द्रीय सरकारले आवश्यक प्रक्रिया अघि बढाएको हो”, उनको भनाइ थियो।
त्यस अवसरमा शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले यो अस्पतालको सेवा, सुविधालाई प्रभावकारी बनाउन समयसापेक्ष सुधार गर्दै जानुपर्नेमा जोड दिए।
अस्पताल विकास समितिका अध्यक्ष डा उषा शाहको अध्यक्षतामा भएको कार्यक्रममा मेडिकल सुपरिटेन्डेण्ट डा प्रकाश थापाले अस्पतालको वस्तुस्थितिका बारेमा जानकारी गराए। रासस