जिल्ला स्वास्थ्य कार्यालय हुम्लाले फार्मेसी सञ्चालन ल्याएपछि सेवाग्राहीलाई सहज भएको छ। फार्मेसी सञ्चालन गरेपछि निजी मेडिकलबाट महंगो मूल्यमा औषधी किन्नबाट सेवाग्राहीले छुट्कारा पाएका छन।
निजी मेडिकल भन्दा सरकारी फार्मेसीमा १० प्रतिशत कम मूल्यमा औषधि पाइन्छ । १ सय ३० प्रकारका औषधी जिल्ला स्वास्थ्य कार्यालयको फार्मेसीबाट पाउने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर रञ्जित कुमार यादवले जानकारी दिए। उनले भने, ‘निजी मेडिकलमा औषधि निकै महंगो छ । त्यसैले हामीले नै सञ्चालनमा ल्याएका हौं ।’
अस्पतालले निशुल्क रुपमा वितरण गदै आएको औषधी वितरण गरिरहेको र त्यो भन्दा बाहिरका औषधि सुपथ मूल्यमा विक्री गर्न थालिएको उनले बताए।
जिल्ला स्वास्थ्य कार्यालय आफ्नै फार्मेसी स्थापना गरेपछि सेवाग्राहीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालयकी फार्मेसी एसिस्टेन्ट हुचुङ्ग लामाले बताइन्।