सानिमा लाइफ इन्सुरेन्सका ग्राहक तथा कर्मचारीको सुलभ उपचारका लागि नेपाल मेडिसिटी अस्पतालसँग सहमति भएको छ । बिमा योजनामा आबद्ध हुने ग्राहकहरुको पूर्व स्वास्थ्य परीक्षणका अब मेडिसिटीले गर्ने भएको छ भने त्यसको सम्पूर्ण व्यवस्थापन इन्स्योरेन्स कम्पनीले गर्नेछ ।
नेपाल मेडिसिटी, भैसेपाटीमा गरिएको सो सम्झौतामा अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमाल र सानिमा लाइफ इन्सुरेन्स कम्पनीका तर्फबाट कर्र्पाेरेट नायब महाप्रबन्धक केशव राज के.सीले हस्ताक्षर गरे।
सम्झौता अनुसार उपचार खर्च, औषधि र डाक्टरसंगको परामर्शमा अस्पतालले १० प्रतिशत सम्मको सहुलियत प्रदान गर्ने भएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका सेवाग्राही र कर्मचारीलाई उक्त सुविधा प्रदान गर्र्ने गरी भएको हो ।
नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले, सानिमा लाइफ इन्सुरेन्सका माध्यमबाट क्यासलेस स्वास्थ्य जाँच गराउन पाएकोमा खुशी व्यक्त गरेका छन् । इन्स्योरेन्स कम्पनीका कर्पोरेट प्रमुख गुणराज श्रेष्ठले आफ्ना ग्राहकहरुको स्वास्थ्यप्रति आफूहरु सचेत रहेको र ग्राहकको स्वास्थ्यका लागि विभिन्न योजनाहरु ल्याउने बताएका छन्। त्यस्तै अस्पतालसंग दिगो रुपमा काम गर्ने अपेक्षा रहेको कम्पनीका महाप्रबन्धक केशव राज के.सीले बताए।