पाठेघरको क्यान्सरबाट अल्पायुमै ज्यान गुमाएकी कमला शाक्यको परिवारजनलाई धुलिखेल अस्पताललाई एक समारोहका बीच कल्पोस्कोप मेसिन प्रदान गरेको छ । अमेरिकामा बस्दै आएकी कमला शाक्यलाई मध्य तीसको उमेरमै पाठेघरको मुखको क्यान्सर लागेपछि उपलब्ध सवै प्रकारका उपचार गरिएपनि करिब साढे दुई महिनाअघि निधन भएको थियो।
नर्स हुनुका साथै समाजसेवामा पनि रुची राख्ने शाक्यकै निधन अघिको चाहना अनुरुप नेपाली महिलाहरुमा समयमै पाठेघरको मुखको क्यान्सर पहिचान गर्न सघाउने कल्पोस्कोप मेशिन प्रदान गरिएको हो।
अस्पतालका डा. सुमनराज ताम्राकारका अनुसार पाठेघरको मुखको क्यान्सर पूर्वको पहिचान (स्क्रिनिङ) गर्ने विभिन्न तौरतरिका मध्ये कल्पोस्कोपी पनि एक हो । ल्याटिन भाषामा कल्पोस भन्नाले योनीमार्ग र स्कोपी भन्नाले यस सम्बन्धी अध्ययन बुझाउँछ । त्यसैलै कल्पोस्कोप भनेको मेशिन हो भने यही मेशिन प्रयोग गरेर योनीमार्ग वरिपरिका अङ्गहरुको अध्ययन गर्ने प्रविधिलाई कल्पोस्कोपी भनिन्छ ।
डा ताम्राकार भन्छन्, ‘पाठेघरको क्यान्सर पूर्वको स्थिति पहिचान गर्नका लागि प्याप स्मेयर, भिआईए (एसिटिक एसिड प्रयोग गरेर), भिआईएलआई (ल्युगोल्स आयोडिन प्रयोग गरेर), कल्पोस्कोपी गरेर तथा डिएनए टेष्टिङ मध्ये कुनै एक वा बढी प्रक्रिया अपनाइन्छ।’
पाठेघरको क्यान्सर पूर्वका स्थिति पहिचान गर्ने प्रविधिहरु
कुनैपनि महिला नियमित यौन सम्पर्क राख्न थालेको केही समय पछि पाठेघरको मुखको क्यान्सर हुन सम्भावना हुन्छ । यस्तो समस्याको निराकरणको लागि पाठेघरको मुखमा कोटरेर गरिने परीक्षणलाई प्याप स्मेयर भनिन्छ । प्याप स्मेयरको संकलन दौरान पाठेघरको मुख शंकास्पद प्रकारको वा त्यहाँ कुनै असामान्य तवरले मासु पलाएको वा प्याप स्मेयरकै विश्लेषणमा केही शंका उठ्ने बित्तिकै कल्पोस्कोपी वा पाठेघरको मुखको एक टुक्रा मासु निकाली गरिने जाँच (बायोप्सी) बाट क्यान्सर छ, छैन निक्र्यौल गरिन्छ । महिनावारी सुकेपछि पनि रगत वा रगत मिश्रित योनीश्राव भएकामा तथा पाठेघरको मुखमा रहेको कुनैपनि समस्या निदान गर्न बायोप्सीको जरुरी छ।
सन् १९२५ मा हिन्सेलम्यानले आविष्कार गरेको कल्पोस्कोपी (पाठेघरको मुख जाँच्ने यन्त्र) ले पाठेघरको मुखको सतह लाई १५ देखि ४० गुणाले ठूलो पारेर देखाइ दिन्छ । नर्मल सलाइन, हरियो फिल्टर, एसिटिक एसिड र ल्युगोल्स आयोडिनको मद्धतले पाठेघरको मुखको सतह शंकास्पद क्षेत्र पत्ता लगाउन मद्धत गर्दछ । त्यसैले खाली त्यत्तिकै कोटरेर मात्र परीक्षण गर्नु भन्दा कल्पोस्कोपीको मद्धतले यस्तै पाठेघरको मुखको शंकास्पद भागबाट मासु निकाली (बायोप्सी) गरिएको खण्डमा क्यान्सर भए/नभएको पत्ता लगाउन सहज हुन्छ।