बागलुङ जिल्लाका दश स्थानीय तहमध्ये नौ स्थानीय तह पूर्ण खोपयुक्त घोषणा भएका छन्। गत कात्र्तिकमा ढोरपाटन नगरपालिका पहिलो खोपयुक्त नगर बनेको थियो।
गलकोट नगरपालिका, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका,काठेखोला गाउँपालिका, बरेङ गाउँपालिका लगायत तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिका गरी नौ स्थानीय तह पूर्ण खोपयुक्त घोषणा भएका हुन्।
जिल्ला नै पूर्ण खोप घोषणा गर्ने तयारीमा
बागलुङ नगरपालिका सदरमुकामसँगै जोडिएकोले केही ढिलाइ हुन पुगेको जिल्ला खोप समन्वय समितिले जनाएको छ । बागलुङ नगरपालिकासँगै आगामी २५ गते जिल्लालाई नै पूर्ण खोपयुक्त जिल्ला घोषणाको तयारी हुँदैछ।
समितिका सदस्य सचिव एवम् जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक तिवारीका अनुसार बागलुङ नगरपालिकाका केही वडामा सर्वेक्षणको काम सकिएको छ र छिट्टै अब जिल्ला र नगरपालिकाको सर्वेक्षणसँगै गर्ने योजना रहेको छ।
‘जिल्लालाई नै पूर्ण खोप घोषणा गर्ने निर्णय गरिसकेका छौँ र यसका लागि सवै आवश्यक कामहरु भइरहेको छ। जनस्वास्थ्य प्रशासक तिवारीले भने,अब कुनैपनि बालबालिका खोपबाट बञ्चित हुने छैनन्।’
३९ सय ६ जना बालबालिकाले पाए पूर्णखोप
जिल्लामा पूर्ण खोप पाएका बालबालिका जम्मा ३९ सय ६ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। जसमध्ये सबैभन्दा बढि बागलुङ नगरपालिकामा ८ सय २६ र सवै भन्दा कम बरेङ गाउँपालिकामा १ सय २७ बालिबालिका रहेका छन्।
बालबालिकाले खोप पाए–नपाएको सुनिश्चित गर्न जिल्ला खोप समन्वय समितिसँगै नगर र गाउँस्तरीय समन्वय समितिले विभिन्न चरणमा सर्वेक्षण गर्ने गरेका छन्।
घरधुरी सर्वेक्षण र नियमित अनुगमनबाट बालबालिका खोपबाट बञ्चित नभएको सुनिश्चित भएपछि मात्र पूर्ण खोपयुक्त नगर, गाउँ सँगै जिल्ला घोषणाको तयारीमा जुटिएको हो।
सम्बन्धित निकायले आउँदा दिनमा पनि सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन प्रतिवद्धता गरेका छन्।
जिल्लाका कुनै पनि बालबालिकालाई खोप पाउनबाट बञ्चित हुन नदिनका लागी पूर्र्ण खोप अभियानले थप टेवा पुग्ने जिल्ला समन्वय समितिका संयोजक एव खोप समन्व्य समितिका अध्यक्ष राजेन्द्र ढुंगानाले बताए ।
पूर्ण खोपयुक्त घोषणा भएका स्थानीय तहमा पोलियो, बिसिजी, हेपटाइटाइटिस– बी, डिपिटी, दादुला, रुबेला, टिटी, जेइ लगायत ११ प्रकारका खोप सबै बालबालिकाले पाएको बताइएको छ।
घोषणा हुनुभन्दा पनि आउँदा दिनमा खोपको सुनिश्चिता हुनु घोषणा कार्यक्रमको मुख्य लक्ष्य हो।
खोप नियमित रुपमा पाएको खण्डमा शिशु तथा बालबालिकालाई विभिन्न १० प्रकारका रोगबाट बचाउन सकिने स्वास्थ्यकर्मी बताउँछन्।
जनस्वास्थ्य प्रशासक तिवारीका अनुसार नियमित खोपका कारण नेपालमा बाल मृत्युदर २५ प्रतिशतले घटेको छ।
कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नपरोस् र नियमित पाउनुपर्ने खोपको सुनिश्चितता होस् भनेर पूर्ण खोपयुक्त क्षेत्र घोषणा गर्ने गरिएको हो।
बागलुङ पूर्ण साक्षर र खुल्ला दिसामुक्त जिल्ला यसअघि नै घोषणा भइसकेको छ।