काठमाडौं- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपकुलपतिको नियुक्तिसँग जोडेर तत्कालिन सहकुलपति तथा स्वास्थ्यमन्त्री प्रति लक्षित गरी संचार माध्यम र सामाजिक संजालमा आएका टिप्पणीको खण्डन गरेको छ।
प्रतिष्ठानले आज विज्ञप्ती जारी गर्दै उक्त विषय निराधार, कपोलकल्पीत, प्रायोजित र व्यक्ति तथा संस्थाको मानहानी तथा चरित्रहत्या गर्ने मनसायबाट निर्देशित भएको भन्दै आपत्ति जनाएको छ।
‘यस प्रतिष्ठानको उपकुलपतिमा प्राध्यापक डा राजकुमार रौनियार नियुक्ति भएसँगै गलत क्रियाकलापमा संलग्न तत्वले आफ्नो स्वार्थ पूरा नभएपछि अनेक आरोप र लाञ्छना लगाउँदै संस्थालाई विवादमा तान्न लागिरहेका छन्,’ प्रतिष्ठानका प्रवक्ता डा पशुपति चौधरी र सह-प्रवक्ता डा अशोक एेरद्वारा जारी संयुक्त विज्ञप्तीमा भनिएको छ।
‘६ बर्ष अगाडि नै प्रतिष्ठानको उपकुलपति नियुक्तिको क्रममा सिफारिस समितिले तीन जनाको नाममा डा रौनियारको नाम एक नम्बरमा सिफारिस गरेको थियो। प्रतिष्ठानको ऐन अनुसार सहकुलपतिको सिफारिसमा अन्तिम निर्णय कुलपतिले गर्ने प्रावधान छ।’
‘करिव एक वर्ष अगाडि पनि नयाँ उपकुलपति छनोट गर्न स्वास्थ्य मन्त्री सहितको तीन जनाको सिफारिस समितिले उहाँको नाम समेत सिफारिस गरेकोमा तत्कालिन कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डबाट डा रौनियारको नियुक्ति भएको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘संस्थाको ऐन, कानुन र विधि सम्मत तरीकाले उहाँलाई छनोट गरिएको रुपमा हामीले लिएका छौं।’
प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालय बनाउन लागिरहेको समयमा यो कार्यलाई अलमल्याउने र संस्थाको छवि धमिल्याउने गलत मनसायबाट नियोजित आरोप लगाइएको प्रतिष्ठानद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
‘यो एकतर्फ हाम्रा योग्य र सक्षम व्यक्तिहरुको योगदान र योग्यताको अवमूल्यन समेत हो भने अर्को तर्फ प्रतिष्ठानलाई विश्वविद्यालय बन्न नदिने र भईरहेका कामहरुमा अवरोध गर्ने नियतका रुपमा हामीले बुझेका छौ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले यस्ता षडयन्त्रका तानावान नबुन्न, कसैको चरित्रहत्या नगर्न र यस्ता अस्थिर मानसिकतावाट निस्केका भ्रामक कुरामा विश्वास नगर्न सम्बन्धित सबैमा अनुरोध छ।’
केही दिन अघि झापास्थित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले १४ करोड लिएर उपकुलपतिमा डा रौनियारलाई नियुक्त गरेको आरोप लगाएका थिए। सोही आरोपको प्रतिष्ठानले खण्डन गरेको हो। पूर्व मन्त्री थापाले पनि मंगलबार फेसबुक मार्फत आरोपको खण्डन गरेका छन्। उनले आरोप प्रमाणित गर्न पनि प्रसाईलाई चुनौती दिएका छन्।