काठमाडौं- चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनसनमा बसेका डा गोविन्द केसीको मागप्रति ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले पनि ऐक्यबद्धता जनाएको छ।
ट्रान्सपरेन्सीले विज्ञप्ति जारी गर्दै स्वास्थ्य र चिकित्सा क्षेत्रमा सुशासन र सदाचार प्रवर्धनका लागि अनवरत रुपमा संघर्ष गर्दै आएका डा केसीको मागप्रति पुनः ऐक्यबद्धता जनाएको हो। यसअघिका अनसनमा पनि ट्रान्सपरेन्सीले डा केसीको मागमा ऐक्यबद्धता जनाएको थियो।
ट्रान्सपरेन्सीले डा केसीको सहमति पालना गर्न पनि सरकारको ध्यानाकर्षण गरेको छ।
'राज्यद्वारा गरिएका सम्झौता पालन गर्ने गराउने प्रमुख दायित्व सरकारकै हो । टीआई नेपाल विकट क्षेत्रका नागरिकको स्वास्थ्य र गुणस्तरीय स्वास्थ्य सेवाका लागि निस्वार्थ भावले स्वास्थ्य सेवा आम नागरिकको पहुँचमा पुर्याउने ध्येय राखेर लडिरहेका डा. केसीको माग पूरा गरियोस्, निजको जीवन रक्षाको पहल तत्काल गरियोस् भन्ने माग पनि गर्दछ', विज्ञप्तिमा भनिएको छ।
सरकारले अध्यादेशका महत्वपूर्ण प्रावधान हटाएर प्रतिस्थापन विधेयक ल्याउन खेजेको प्रति पनि ट्रान्सपरेन्सीले आपत्ती जनाएको छ।
'सरकारले अध्यादेशका महत्वपूर्ण प्रावधानहरुलाई हटाएर प्रतिस्थापन विधेयक संसद सचिवालयमा दर्ता गराउनु, जीवन रक्षाका लागि संवेदनशील हुनुपर्ने सरकारी संयन्त्र थाहा नपाएझै गरेर बस्नु, खस्कँदो स्वास्थ्य अवस्था विचार गरी उपचारका लागि गएका चिकित्सक टोलीलाई फिर्ता गर्नु कुनै पनि लोकतान्त्रिक सरकारको चरित्र होइन,' विज्ञप्तीमा भनिएको छ।