सभामुख कृष्णबहादुर महराले प्राकृतिक चिकित्सा पद्धतिले स्वस्थ नागरिक निर्माणमा विशेष भूमिका निर्वाह गर्ने बताएका छन्।
प्रथम राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले यस्तो बताएका हुन्।
नसर्ने रोगमा प्राकृतिक चिकित्सा भन्ने मूल नारासहित पहिलोपटक सरकारी तहबाट मनाइएको प्राकृतिक चिकित्सा दिवसलाई शुभकामना दिँदै सभामुख महराले प्राकृतिक चिकित्सा, योग र आयुर्वेदलाई सँगसँगै अगाडि बढाउन सके उपचार पद्धतिमा ठूलो उपलब्धि हुने बताए।
उनले प्राकृतिक चिकित्सा पद्धतिलाई विकास गर्न सातवटै प्रदेशमा एकएक वटा सुविधासम्पन्न प्राकृतिक चिकित्सालय स्थापना गर्न सरकारसँग अनुरोध गरे।
‘प्राकृतिक चिकित्सा पद्धतिको विकास गर्न प्रत्येक प्रदेशमा एक÷एक वटा प्राकृतिक चिकित्सालय स्थापना गरिदिन म सरकारसँग अनुरोध गर्दछु,' सभामुख महराले भने, ‘दाङमा संस्कृत विश्वविद्यालयमा छ, त्यहाँ एउटा आयुर्वेद कक्षाका लागि ठूलो भवन निर्माण भइसकेको छ। त्यसलाई आयुर्वेद कलेजको रुपमा विकास गर्न सकिन्छ।’
प्राकृतिक चिकित्सा पद्धतिको विकास गर्न उचित शिक्षा र उपचार विधि आवश्यक हुने भन्दै सभामुख महराले प्राकृतिक चिकित्सा पद्धतिबारे सबैलाई शिक्षित गर्न अभियन्ताहरुलाई आग्रह गरे।
सरकारले प्राकृतिक चिकित्सा विधेयक ल्याएमा कानून निर्माणका लागि राम्रो हुने भन्दै सभामुख महराले विधेयकका लागि सरकारलाई आग्रह गर्न प्राकृतिक चिकित्साकर्मीहरुलाई सल्लाह दिए।
यसैबीच दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेललाई सम्मान गरिएको छ । योग तथा प्राकृतिक चिकित्सक संघले राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसलाई सरकारी तहबाटै मनाउने व्यवस्था गर्न विशेष पहल गर्नुका साथै प्राकृतिक चिकित्सा पद्धतिको महत्वलाई बुझेर उक्त अभियानलाई सहयोग गरेको भन्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका पोख्रेललाई दोसल्ला र अभिनन्दन पत्र सहित सम्मान गरिएको हो।