बैतडी- वर्षायाम लागेसँगै बैतडी जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ। अस्पतालमा मौसमी बिरामी यो समयमा बढी पुग्ने गरेका हुन्।
दैनिकजसो ६० देखि ७० जना बिरामी अस्पतालमा उपचारको लागि आउने गरेका अस्पतालका मेडिकल अधिकृत डा देवेन्द्र लेखकले बताए। डा लेखकका अनुसार छाती, झाडापखाला, आउँ, पेट दुख्ने लगायतका बिरामी अस्पतालमा बढी आउने गरेका छन्।
यस्तै, ज्वरो, रुघाखोकीका बिरामी पनि धेरैजसो यो समयमा अस्पतालमा उपचारका लागि पुग्ने गरेका डा लेखकले बताए।
खानपान, सरसफाइ लगायतका कुरामा ध्यान दिनाले यस्ता रोगबाट बच्न सकिने डा लेखकको भनाइ छ। यो समयमा पिउने पानीमा विशेष ध्यान दिनुपर्ने उनले सुझाव दिए। यसका साथै जिल्लाका विभिन्न स्थानमा शुद्ध खानेपानीको समेत अभाव भएका कारणले बिरामी बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
जिल्ला अस्पताल बैतडीमा आउने बढीजसो बिरामीमा महिला, बालबालिका तथा वृद्धवृद्धा रहेका छन्।रासस