हुम्ला– सिमिकोट गाउँपालिका पूर्ण खोपयुक्त घोषणा भएको छ । हुम्ला जिल्लाका दुईटा गाउँपालिका हालसम्म पूर्ण खोप गाउँपालिका घोषणा भएका छन्। यसअघि खार्पुनाथ गाउँपालिकालाई पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरियसकिएको र अन्य गाउँपालिकामा पनि यसको तयारी भइरहेको जिल्ला स्वास्थ्य प्रमुख डा. रन्जित कुमार यादवले बताएका छन्।
सिमिकोट गाउँपालिकामा एक वटा जिल्ला अस्पताल, ४ वटा स्वास्थ्य केन्द्र र एक सामुदायिक स्वास्थ्य क्लिनिक मार्फत नियमित खोप सञ्चालन गरी पूर्ण खोप गाउँपालिका घोषणा गराउन सम्भव भएको हो । सिमिकोटमा रहेका जम्मा २ सय ७८ लक्षित बालबालिका मध्ये हाल २ सय उनान्साठी बालबालिकाले नियमित खोप लगाईरहेको तथ्याँक जिल्ला स्वास्थ्य कार्यालय, हुम्लाले जानकारी प्रदान गरेको छ ।
जिल्ला अस्पताल सिमिकोटमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले हुम्लामा स्वास्थ्यको अवस्था सुधार गर्नको लागि बालबालिकालाई खोपको अवस्थालाई ध्यान पुर्याउन सकियो भने धेरै रोगबाट उन्मुक्ति पाउन सक्ने भएकोले जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई खोप कार्यक्रमलाई जिल्लाभर नियमित बनाइराख्न सुझाए। सिमिकोट गाउँपालिकालाई जिल्लाकै दोस्रो पूर्ण खोप गाउँपालिका घोषणा गर्नको लागि सहयोग गर्ने सबै स्वास्थ्यकर्मी र सरोेकारवाला निकायलाई धन्यवाद दिँदै आगामी दिनमा स्वास्थ्यको अन्य क्षेत्रमा सुधार गर्नको लागि सबै स्वास्थ्यकर्मी लाग्नको लागि गाउँपालिकाको कार्यालयले सहयोग गर्ने भनाई गाउँपालिकाका अध्यक्ष पदम लामाले बताए।
हाल जिल्लामा एक अस्पताल र २७ वटा स्वास्थ्य केन्द्र मार्फत जिल्लाको स्वास्थ्य सेवा चलिरहेको छ । हाल औषधी उपचार गर्नको लागि सिमित स्वास्थ्य सुविधा मात्र त्यस्ता स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको भएता पनि केही जटिल विरामीको उपचार जिल्ला अस्पतालमा मात्र हुने गरेको छ । कठिन अवस्थामा रहेका सुत्केरीको अपरेसन लगायतका सुविधा नहुँदा हुम्लाका बासिन्दालई कठिन हुने गरेको छ । धेरै बिरामी भएमा जिल्लामा रहेका त्यस्ता स्वास्थ्य संस्थामा सिटामोल समेत पाउन कठिन हुने गरेको छ । गाउँपालिकाको कार्यालय मार्फत हाल औषधीको खरिद गरिने प्रावधान नेपाल सरकारले ल्याए पश्चात हाल औषधी नियमित रुपमा खरिद हुन नसक्नु हुम्लाको अर्को समस्या रहेको छ।
कठिन भू–बनोटको कारण बिरामीलाई उपचार गराउन जिल्ला ल्याउन पर्दा हप्तौं दिन लगाई बोकेर सदरमुकाम सिमिकोट आउनुपर्ने अवस्था अझै कायम रहेको छ । खोपको लागि भ्याक्सिन लगायतका सामाग्री जिल्ला बाहिरका स्वास्थ्य संस्थामा पुर्याउनको लागि समेत कठिन हुँदा बेलैमा राष्ट्रिय कार्यक्रम खोपलाई केही दिन ढिलो गरी समेत सञ्चालन गर्नुपर्ने अवस्था अझै कायम छ ।