रुपन्देही– ७ लाख भन्दा बढी थारु समुदाय रहेको प्रदेशमा छ मा दुई ठाउँमा मात्रै सिकलसेल एनिमिया परीक्षण हुन्छ । प्रदेशमा बर्दिया, बाँके, दाङ, कपिलबस्तु रुपन्देही र नवलपरासी जिल्लामा थारु जातिको बाहुल्यता छ। यो जातिमा बढी देखिने उक्त रोगको परीक्षणका लागि थप केही ठाउँमा परीषण हुनुपर्ने माग गरिएको छ। हाल लुम्बिनी अञ्चल अस्पताल बुटवल र भेरी अञ्चल अस्पताल नेपागञ्जमा सिकलसेल एनिमियाको जाँच हुने गरेको छ।
सोही अनुसार सिकलसेल एनिमियाको प्रयोगशाला स्थापना गर्न सम्भाब्यता अध्यय सम्वन्धी बुटवलमा अन्तरक्रिया गरिएको छ । प्रदेश ५ सामाजिक विकास मन्त्रालयको आयोजना तथा लुम्विनी अञ्चल अस्पतालको समन्वयमा भएको कार्यक्रममा जिल्लामा रहेका ल्यावहरुको अवस्थाका बारेमा छलफल भएको छ । महाशाखाका कविराज निरीक्षक गणेश भट्टराईले थप परीक्षण स्थानका लागि ल्यावहरुको अवस्थादेखि जनशक्तिको अवस्था, भौतिक पूर्वाधार सबै विषयमा छलफल गरिएको बताए।
कार्यक्रममा अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेट डाक्टर कृष्ण खनालले अस्पतालमा भवन अभाव रहेकाले ल्यावलाई सिढि मुनि राखेरसेवा दिइएको बताए । डा खनालले डाइग्नोष्टिक भवन बनाउनको लागि मन्त्रालयमा माग गरेपनि सुनुवाई नभएको जानकारी दिए । अस्पतालले बिगत डेढबर्षपहिले नक्सा र स्टमेट बनाएर पठाएको थियो । अर्थ मन्त्रालय स्वास्थ्य मन्त्रालयमा पठाएपनि त्यहाँ पुगेर अड्किएको उनले बताए । २४ करोडको स्टमेट गरेको उक्त भवन स्वास्थ्य मन्त्रालयमै थन्किएको डा खनालले बताए।
लुम्बिनी अञ्चल अस्पताल बुटवलमा एक्सरेका लागि भवनको अभावमा हुँदा टिनको छानामुनि सेवा दिएको बताए । लुम्बिनी अञ्चल अस्पताल बुटबलमा सिकलसेल एनिमियो जाँचका लागि गत बर्षनै मेसिन आएको थियो । तर, राख्ने ठाउँको अभावमा १५ दिन पहिलेबाट मात्र सुरु गर्न सकिएको बताए । अस्पतालमा सुरु भएको १५ दिनमा ७ जना उपचार गर्ने आएकोमा ३ जनामा उक्त रोग भेटिएको उनले जानकारी दिए।
अन्य जिल्लामा पनि बिस्तार गर्ने योजना रहेको महाशाखाका कविराज निरिक्षक भट्टराईले बताए ।