म स्वास्थ्य सेवामा प्रवेश गरेको झन्डै तीनवर्ष पुग्न लाग्यो । तर, आज पनि सुरुवातका दिनजस्तै नयाँ जस्तो लाग्छ र काम गर्ने जाँगर चल्छ । निकै रहरले पढेकाले पनि होला, मलाई भर्खर मात्रै अनमी भएर काम थालेको जस्तो लाग्छ।
सुषमा कोइराला मेमोरियल क्याम्पस, नेपालगञ्जबाट ०७२ सालमा अनमी पास गरेपछि जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेमा अनमीको पदमा रही ६ महिना करारमा काम गरेँ। त्यसपछि आफ्नै घर भएको बाँकेको डुडुवा गाउँपालिका वडा नं. ३ बनकट्टीमा रहेको स्वास्थ्य चौकीमासाढे दुई महिना काम गरेँ।
०७४ सालमा लोकसेवा पास गरेपछि जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले २५ दिनको सुत्केरी अवस्थामा नै जिल्लाको सबैभन्दा बिकट ठाउँको रुपमा परिचित रग्दा स्वास्थ्य चौकीमा मेरो दरबन्दी कायम गर्यो ।
सुत्केरी बिदा माग गर्दा पनि नलगाड नगरपालिकाले कुनै पनि हालतमा बिदा दिन नसक्ने बताएपछि कार्यालयमा हाजिर भएर सदरमुकाम खलंगा आएर जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखसँग अनुरोध गरें । ९८ दिन बिदा पाउनुपर्ने ठाँउमा ४९ दिनको बिदा दिने निर्णय गर्नुभयो । ४९ दिनको बिदा पनि मेरो बच्चाका लागि राहत नै भयो।
आमाको उपचारमा विभेद भोगेपछि स्वास्थ्यकर्मी
म स्वास्थ्य क्षेत्रसँगै जोडिनुको कथा लामो र संघर्षपूर्ण छ । तर, यसलाई छोटकरीमा राख्न चाहन्छु । म जन्मेको ६ महिनामा नै बुवाको मृत्यु भयो । बुबाको न्यानो काखमा खेल्न पाइनँ। देशको मुहार फेर्ने दश वर्षीय जनयुद्धमा मेरो पूरै परिवार होमियो । मेरो परिवारमा मेरो आमा, दाजु र म मात्र थियौं। दाजु जनमुक्ति सेनाको कमाण्डर भएर लड्दा लड्दै सुर्खेतमा नेपाली सेनाको नियन्त्रणमा परी कैदी जीवन बिताए । केदी अवस्थामैै कारागारबाट सुरुङ खनेर साथीहरुसँगै भाग्न सफल भएपनि बाँकेमा पुग्ने बित्तिकै फेरि नेपाली सेनाले नियन्त्रणमा लिएर बेपत्ता बनायो । दाजुले युद्धको मैदानमा रहेका बेला नै विवाह गर्नुभएको थियो । वैवाहिक जीवनमा बाँधिएको केही महिनामा नै नेपाली सेनासँगको भिडन्तमा भाउजुको ज्यान गयो।
दाई र भाउजु परिर्वतनका निम्ती संघर्ष गर्दागर्दै शहिद भएपछि म र मेरो आमा मात्र बाँचिरहेका थियौं। त्यहीबेला फेरी नेपाली सेनाले मेरो घरमा छापा मारेर आमालाई बेपत्ता बनायो । लामो समय खोजी गरेपछि बाँकेको फुल्टेक्रामा रहेको नेपाली सेनाको ब्यारेकमा चरम यातना दिँदै राखेको थाहा पाइयो।
एक महिनासम्म आमालाई सेनाले यातना दिएपछि आमाको मानसिक सन्तुलनमा समस्या आयो । त्यसपश्चात् सेनाले नेपालगञ्ज कारागारमा राख्न पठाएको तीन महिनापछि आमालाई कारागारबाट मुक्त गरियो । कारागारबाट मुक्त भएपछि लामो समय उपचार गरियो र स्वास्थ्यस्थितिमा केही सुधार आयो । उपचार गराउन जााँदा गरिब र धनी भनेर स्वास्थ्यकर्मीबाट बिभेद भोगियो । बिभेदका बिरुद्ध लड्नका निम्ति स्वास्थयकर्मी बन्ने चाहना जाग्यो र यो मेरो मात्र नभइ मेरी आमाको पनि चाहना थियो।
कुरा २०६५÷०६६ साल तिरको हो । तत्कालीन समयमा नेपाली सेनाले दिएको चरमपूर्ण यातनाका कारण आमालाई क्यान्सर हुन पुग्यो । आमाको उपचारका लागि आर्थिक जोहो गर्न मुश्किल परेपछि उहाँको नाममा रहेको जग्गा विक्री गरी उपचारका लागि भारतको लखनाउ लगें । उपचार हुँदाहुँदै आमाको मृत्यु भयो । त्यसपछि म एक्ली हुन पुगें । आमाको काजक्रिया गरेर आमाको सपना पूरा गर्न संघर्ष गर्ने संकल्प लिए।
२०६८ सालमा नेपालगञ्जमा आलम खान नामका युवासँग भेट हुन पुग्यो । संयोग भन्नु पर्छ उहाँ पनि कम्युनिष्ट बिचारधाराको हुनुहँुदो रहेछ । उहाँसँगको भेटले मैले र आमाले देखेका सपनाहरु पूरा हुने आशा जाग्यो। खानसँग विवाह गरेपछि अनमी पढ्नका अनमी पढें । अनमीमा ९१.९५ प्रतिशत ल्याएर पास भएँ।
सचेतनाका लागि मेरो संकल्प
मैले जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेमा रोभिग अनमीका लागि परिक्षा दिँदा एक नम्बरमा नाम निकालेर होलियामा गर्भवती जाँच, सुत्केरी गराउने र परिवार नियोजन साधनबारे जानकारी दिने अवसर प्राप्त भएको थियो । मैले होलियामा काम गर्र्न सुरु गरे पछि त्यहाँका महिलाहरु स्वास्थ्यप्रति अलि बढी सजग भएजस्तो महशुस गरें । गर्भ रहेदेखि नै नियमित स्वास्थ्य केन्द्रमा गएर जाँच गराउने, सुत्केरी हुने र पछि पनि जाँच गराउने क्रम बढेको थियो।
म अहिले कार्यरत रहेको रग्दाको चौखामा पहाडी समुदायको बाहुल्य छ । सो समुदायका महिलाहरुमा पनि स्वास्थ्य संस्थामा आएर जाँच गराउने, सल्लाह लिने र सुत्केरी हुन पनि स्वास्थ्य केन्द्रमै आउनुपर्छ भन्ने चेतना बाँड्न थालेकी छु।
यति मात्र होइन, सन्तान पनि जन्मान्तर गरेर जन्माउनुपर्छ भन्ने सोचको विकास हुँदै गएको छ। यहाँका धेरै महिला जन्मान्तरका लागि डिपो र पिल्सको प्रयोग गर्छन् । पछिल्लो समय भने नरप्लान्ट र आइयुसिडी प्रयोग गर्नेको संख्या पनि बढेको छ।
यस क्षेत्रमा कण्डम प्रयोग गर्नेहरुको संख्या भने निकै कम छ । स्वास्थ्य केन्द्रबाट निकै कमले कण्डम लैजान्छन् । बाहिर मेडिकलबाट किनेर लैजाने चाहिँ हुन सक्छन् । यस विषयमा महिलाहरुसँग सोध्दा उनीहरुमध्ये धेरैको जवाफ हुन्छ, ‘श्रीमानले रक्सी खाएका हुन्छन्, कण्डम प्रयोग गर्नै मान्दैनन् ।’
पुरुषहरुको यस्तै प्रवृत्तिका कारण यहाँ परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्नेमा महिलाकै संख्या बढी छ।
हाम्रो स्वास्थ्य चौकीमा किशोर–किशोरीमैत्री सेवा पनि छ। जहाँ विवाहित किशोर–किशोरी परामर्श लिन आउँछन् । अविवाहित किशोर–किशोरी भने खासै आउँदैनन् । किशोर–किशोरीले स्वास्थ्य तथा प्रजनन स्वास्थ्यबारे जानकारी लिन संकोच मान्ने प्रवृत्ति कायमै छ।
स्थानीयहरुले स्वास्थ्य केन्द्रबाट सबै किसिमको उपचार सेवा खोज्ने भएकाले त्यसअनुसार केही सेवा–सुविधा बढाउनुपर्ने देखिन्छ । जस्तैः स्वास्थ्य केन्द्रमै शल्यक्रियामार्फत सुत्केरी गराउनुपर्ने व्यवस्था हुन आवश्यक छ । कहिलेकाहिँ सुत्केरीहरु निकै जटिल अवस्थामा आइपुग्छन् । नजिकै अस्पताल र एम्बुलेन्सको साधन समेत नभएको ठाउँ भएकोले उनीहरुलाई अर्को अस्पताल रिफर गर्दा पु¥याउन ढिलो हुने खतरा हुन्छ। शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा भविष्यमा सुरु होला भन्ने आशा छ।
सरकारले बल्ल त सबै स्वास्थ्य केन्द्रमा डाक्टरको व्यवस्था गरेको छ। हामीकहाँ पनि एक वर्षदेखि डाक्टर हुनुहुन्छ। गाउँमै डाक्टर पाएपछि स्थानीय निकै खुसी भएका छन्। यसबाट सानोतिनो उपचारका लागि धाएर शहर जानुपर्ने बाध्यता हटेको छ।
मैले जागिर खाएपछि काखमा छोरीलाई च्यापेर विरामीहरुलाई सेवा दिँदै आएकी छु । स्वास्थ्य सेवा नियमावली र निजामति कर्मचारी ऐनमा ‘सुत्केरी महिला कर्मचारीलाई एक वर्षसम्म दुर्गाम ठाँउमा दरबन्दी कायम गरिने छैन’ उल्लेख छ। कर्मचारीलाई सुबिधा हुने ठाउँ राख्ने व्यवस्था हुँदाहँुदै पनि स्थानिय निकाय, जिल्ला स्वास्थ्य कार्यालय र स्वास्थ्य मन्त्रालयलेसमेत खसै चासो देखाएको पाइएन।
तरपनि म खुशी नै छु । किनकि आफू जस्तै महिलाको सेवा गर्न पाउँदा र जानेका कुरा सिकाउन पाउँदा आनन्द लाग्छ ।तर, सुत्केरी महिलालाई घर नजिकै राखेर काममा लगाउने सरकारले निति लिन भने जरुरी छ । स्थानीय सरकारदेखि केन्द्र सरकार समेत सुत्केरी कर्मचारी प्रति सम्बेदनशील नहुनु दुखद कुरा हो ।