काठमाडौं - नेपाल पेडियाट्रीक सोसाइटी (नेपास) ले संसदीय निर्वाचनमा बाल स्वास्थ्य र बाल अधिकारका विषय आफ्नो घोषणापत्रमा समावेश गर्न दलहरुलाई आह्वान गरेको छ।
सोसाइटीले सबै राजनीतिक दलहरुलाई आफ्नो घोषणापत्रमा बाल स्वास्थ्य र बाल अधिकारका मुख्य ६ वटा प्रतिवद्धता समावेश गर्न आह्वान गरेको हो। बाल स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकता, मातृ, नवजात, शिशु तथा किशोर स्वास्थ्यमा लगानी, कुपोषण अन्त्यका लागि बहु क्षेत्रीय दृष्टिकोण, गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच, बाल अधिकार संरक्षण र सुरक्षा र संघीय संरचनामा बालमैत्री शासनका विषय प्रतिवद्धताका रुपमा समावेश गर्न सोसाइटीको आग्रह छ।
आगामी निर्वाचनमा राजनीतिक दलहरुले प्रस्तुत गर्ने घोषणापत्रले देशको भविष्यको दिशा तय गर्न सक्ने भएकले बाल स्वास्थ्य र बाल अधिकारलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने सोसाइटीको भनाई छ।
निर्वाचन घोषणापत्र मार्फत बाल स्वास्थ्य र बाल अधिकारप्रति स्पष्ट, मापन योग्य र कार्यान्वयन योग्य प्रतिवद्धता जनाउन समेत सोसाइटीको आह्वान छ। साथै यस अभियानमा नीतिगत संवाद, प्राविधिक सहयोग र सहकार्यका लागि आफुहरु सधै तयार रहेको उनीहरुको भनाई छ।