धुलिखेल - काभ्रेस्थित धुलिखेल अस्पतालले स्वास्थ्य बीमा सेवा बापतको ३६ करोड सरकारबाट भुक्तानी लिन बाँकी छ। गत वैशाखदेखि हालसम्मको सो रकम बराबरको भुक्तानी बाँकी रहेको अस्पताल प्रशासनले जनाएको छ।
हाल अस्पतालमा आएकामध्ये ७० प्रतिशतसम्म बिरामी बीमामार्फत सेवा लिन आउने गरेको र दैनिक १५ लाखको बीमा दाबी जाने गरेको अस्पतालका निर्देशक प्रा डा बलराम मल्लले बताए। उनका अनुसार विपन्नलाई दिइएको सेवाबाट पनि सरकारले दिनुपर्ने भुक्तानी ११ महिनादेखि अस्पतालले लिन बाँकी छ। हाल प्रति महिना ५० लाख बराबरको यस्तो दाबी हुने गरेको छ।
यद्यपी अस्पतालले बीमा सेवाबाट उपचार पाउने अवस्थाबाट भने सेवा नरोक्ने जनाएको छ। सरकारसँग दाबी भुक्तानीका विषयमा कुरा भइरहेको र केही समयभित्रै भुक्तानी पाउने आश्वासन पाइएकाले सेवा भने तत्काल बन्द नगर्ने डा मल्लले बताए। सरकारले बीमा सेवा न्यून आय भएका नागरिक लक्षित शुरु गरेको भएपनि पछिल्ला वर्षहरुमा सबै वर्गका नागरिक समेटिएका कारण पनि बीमा सेवामा चाप बढेको उनले बताए।
धुलिखेल अस्पतालले ओपीडी समय बढायो
धुलिखेल अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउन बहिरंग सेवा (ओपीडी) को सञ्चालन समय विस्तार गरेको छ। बिहानी एवं दिउँसोको समयमा कामकाजमा व्यस्त रहने सेवाग्राही (विशेषगरी कार्यालयमा सेवारत समूह) एवं उक्त समयमा कार्य व्यस्तताका कारण अस्पतालसम्म आएर स्वास्थ्य सेवा लिन नसकेका सेवाग्राहीहरूलाई लक्षित गरी अस्पतालले आफ्नो नियमित ओपीडी सेवाहरू दुई घण्टाले बढाएको हो।
नयाँ ओपीडी सञ्चालन तालिका अनुसार बिहान ८ देखि साँझ ६ बजेसम्म हुनेछ। यस अघि ओपीडी सेवा बिहान ९ देखि साँझ ४ बजेसम्म सञ्चालन हुँदै आएको थियो। यसका साथै धुलिखेल अस्पतालले विगत केही हप्तादेखि शनिबार पनि ओपीडी सेवा सञ्चालन गर्दै आएको अस्पतालका निर्देशक प्रा डा मल्लले जानकारी दिए।
अन्य दिन कार्यालय वा दैनिक व्यस्तताका कारण बहिरंग सेवा लिन नपाएका सेवाग्राहीहरुलाई दृष्टिगत गरी अस्पतालले शनिबारसमेत बिहान ९ देखि १ बजेसम्म बहिरंग सेवाहरूको थालनी गरिएको उनले बताए।
यी विस्तारित सेवा अर्थात् अन्य दिनका अपरान्ह सत्रको ओपीडी सेवा (४ः०० देखि ६ः०० बजे सम्म) र शनिबार बहिरंग सेवाहरूमा स्वास्थ्य बीमा सेवा भने लागू नहुने जानकारी दिइएको छ। दैनिक जीविकोपार्जन र आफ्नो स्वास्थ्यबीच छनौट गर्न नपरोस् भन्ने उद्देश्यका साथ अस्पतालले आफ्ना ओपीडी सेवाहरू साँझसम्म विस्तार गरेको र शनिबारका दिन पनि ओपीडी सेवा सञ्चालन गरेर समुदायमा रहेका सेवाग्राहीको समसामयिक आधारभूत आवश्यकताहरू पूरा गर्न अस्पताल प्रतिबद्ध रहेको पनि अस्पताल प्रशासनले जनाएको छ।
सेवा समय अवधि विस्तार भएपनि यसमा अतिरिक्त सेवा शुल्क भने नलाग्ने अस्पतालले प्रष्ट पारेको छ। शनिबारबाहेकका अन्य सार्वजनिक बिदाका दिनमा अवस्था हेरेर सेवा दिइने निर्देशक डा. मल्लको भनाई छ।
क्यान्सर विजेता साइक्लिस्टहरुलाई सम्मान
यसैबीच विश्व क्यान्सर दिवसको अवसरमा धुलिखेल अस्पतालमा घोषणा गरिएको १ हजार ८ सय किलोमिटर (पूर्वपश्चिम) लामो साइकल यात्राको समापन धुलिखेल अस्पतालमा नै बुधबार गरिएको छ। विशेषगरी क्यान्सर रोगबाट प्रभावित भएका दुई जना हर्क लामा र कविता चित्रकारले साइकल यात्राको योजना बनाएका थिए।

सो अवसरमा अस्पतालका संस्थापक एवं कार्यकारी निर्देशक डा रामकण्ठ माकजुले नेपालका लागि मैले के पाएँ भन्दा पनि के गर्न सकें भन्ने सोचले काम गर्नुपर्ने बताउँदै सहज अवस्थामा भन्दा पनि असहज अवस्थाबाट बाँच्न उत्प्रेरणा जगाउने खालका गतिविधिहरुले मान्छे खुशी हुने उल्लेख गरे।
जनवरी १ देखि शुरु भएको एक महिना लामो साइकल यात्रामा सहभागीहरुले यात्राका क्रममा १५ स्थानमा २ हजार जनाभन्दा धेरैलाई प्रत्यक्षरुपमा क्यान्सर रोगसम्वन्धी सचेतना फैलाउन सकिएको अस्पतालका डा सुमनराज ताम्राकारले बताए। साइकल यात्री हर्क लामा र कविता चित्रकारले यात्राको अनुभव सुनाउँदै क्यान्सर रोग जित्न सक्ने साहस साइकल यात्राबाट मिलेको बताए। सो अवसरमा साइकल यात्रामा सहयोग गर्ने र सहभागीहरुलाई सम्मान पनि गरिएको थियो।