“ऋण खोजेर भए पनि नागरिकको स्वास्थ्य बीमा गर्नुपर्छ” भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति नागरिकको स्वास्थ्य अधिकार र सेवा–प्रदायक स्वास्थ्य संस्थाको विद्यमान अवस्थाबारे बहसमा आएको छ। यो अभिव्यक्तिले राज्यले स्वास्थ्यलाई खर्च होइन, दीर्घकालीन सामाजिक लगानीका रूपमा लिएको संकेत गर्दछ। नेपालको संविधानले प्रत्याभूत गरेको नागरिकको स्वास्थ्य अधिकारलाई व्यवहारमा उतार्ने राजनीतिक इच्छाशक्ति सहितको प्रतिबद्धता अब व्यावहारिक रूपमा प्रकट हुनेछ भन्ने आशा जगाएको छ।
नागरिकको स्वास्थ्य अवस्था र सार्वजनिक स्वास्थ्य संस्थाहरूको वर्तमान सन्दर्भलाई आधार मान्ने हो भने मुलुकको यथार्थ अझै कठिन छ। सामान्य रोगको उपचार खर्चले परिवारलाई ऋणको बोझमा पार्ने अवस्था गहिरिँदै गएको छ। यही पृष्ठभूमिमा स्वास्थ्य बीमा कार्यक्रम सामाजिक सुरक्षाको दृष्टिकोणले अनिवार्य आधार बनेको छ। तर बीमाको लक्ष्य, ध्येय र उद्देश्य तथा व्यावहारिक कार्यान्वयनबीच ठूलो अन्तर देखिन थालेको छ। यसको ठूलो मार सार्वजनिक स्वास्थ्य संस्थाहरूले खेपिरहेका छन्, जुन अवस्था अहिले लगभग लडखडाउने चरणमा पुगेको छ।
स्वास्थ्य बीमाको मेरुदण्ड सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरू हुन्। देशका दुर्गमदेखि सहरी क्षेत्रसम्म आम नागरिकको उपचारको प्रारम्भिक गन्तव्य यही हुन्। तर आज यही सार्वजनिक स्वास्थ्य संस्थाहरू बीमा कार्यक्रमकै कारण गम्भीर आर्थिक संकटमा परेका छन्। यसको प्रमुख कारण स्पष्ट छ- स्वास्थ्य बीमा बोर्डमार्फत समयमै भुक्तानी नआउनु।
अधिकांश सरकारी अस्पतालहरूले बीमित सेवाग्राहीलाई सेवा प्रदान गरिसकेपछि पनि महिनौँसम्म भुक्तानी पाएका छैनन्। यस अवस्थाले औषधि तथा औषधिजन्य सामग्री खरिदको भुक्तानी सम्बन्धित आपूर्तिकर्तालाई समयमै दिन नसक्ने स्थिति सिर्जना गरेको छ। एकातिर लाजले सिर निहुराउनु पर्ने अवस्था छ भने अर्कोतिर दैनिक सेवा सञ्चालनमै समस्या आउने भयले आर्थिक तथा व्यवस्थापकीय चिन्ता थपिएको छ। परिणामस्वरूप बीमा भएका बिरामीहरूले पनि सरकारी अस्पतालमा आवश्यक औषधि नपाउने, सेवा ढिलो हुने र असन्तुष्टि बढ्ने अवस्था स्पष्ट रूपमा देखिन थालेको छ।
यदि यो अवस्था अझै केही समय कायम रह्यो भने दीर्घकालीन रूपमा यसले गम्भीर र खतरनाक परिणाम निम्त्याउने देखिन्छ। एकातिर स्वास्थ्य बीमाप्रतिको विश्वास घट्दै जान्छ भने अर्कोतिर सार्वजनिक स्वास्थ्य प्रणाली कमजोर बन्दै जान्छ। स्मरणीय छ—यदि सार्वजनिक अस्पतालहरू आर्थिक रूपमा धराशायी भए भने स्वास्थ्य बीमा कार्यक्रम निजी अस्पतालमा मात्र सीमित हुनेछ, जसले बीमाको लागत झनै बढाउने र यसको दिगोपनामा गम्भीर ह्रास ल्याउने निश्चित छ।
प्रधानमन्त्रीको “ऋण खोजेर भए पनि” भन्ने अभिव्यक्तिको वास्तविक अर्थ यही सन्दर्भमा स्पष्ट हुन्छ। राज्यले यदि स्वास्थ्य बीमाका लागि ऋण लिने निर्णय गर्छ भने उक्त रकम कार्ड वितरण वा अन्य सेवा खरिदमा मात्र होइन, सार्वजनिक स्वास्थ्य संस्थाहरूको वित्तीय क्षमता र स्थायित्वमा लगानी हुनुपर्छ। भुक्तानी प्रक्रिया समयमै सुनिश्चित गर्ने, बाँकी रकम शीघ्र फछ्र्यौट गर्ने र सेवा–प्रदायक सार्वजनिक स्वास्थ्य संस्थालाई आर्थिक सुरक्षाको प्रत्याभूति दिनु पहिलो प्राथमिकता हुनुपर्छ।
स्वास्थ्य बीमा कार्यक्रमलाई सफल र सार्थक बनाउने हो भने सार्वजनिक अस्पताललाई “बीमाको बोझ होइन, बीमाका आधार स्तम्भ हुन्” भन्ने सारभूत मनोवैज्ञानिक अनुभूति गराउनु आवश्यक छ। आधुनिक उपकरण, पर्याप्त जनशक्ति, औषधि तथा औषधिजन्य सामग्रीका साथै नियमित र पारदर्शी भुक्तानी प्रणाली बिना कुनै पनि सुधार सम्भव हुँदैन।
स्वास्थ्य बीमा कार्यक्रम मुलुकको सामाजिक न्यायको एक महत्वपूर्ण औजार हो। यसले गरिब र मध्यम वर्गलाई उपचारमा सहज पहुँच प्रदान गर्छ र रोगका कारण पर्न सक्ने आर्थिक बोझलाई न्यूनीकरण गर्न सक्छ। तर सेवा दिने संस्थालाई नै आर्थिक संकटमा धकेल्ने अवस्था सिर्जना गर्नु सामाजिक न्याय होइन—यो त संस्थागत अन्याय हो।
सार्वजनिक सञ्चारमाध्यममा आएको प्रधानमन्त्रीको भनाइ नीतिगत बहसको अत्यन्तै राम्रो सुरुवात हो। तर त्यसलाई कार्यान्वयनमा उतार्न दृढ संकल्प, राजनीतिक इच्छाशक्ति र स्पष्ट मार्गचित्र आवश्यक छ। ऋण लिएर भए पनि नागरिकको स्वास्थ्य बीमा गर्नु राज्यको दायित्व हो। तथापि, उक्त ऋणको सदुपयोग सार्वजनिक स्वास्थ्य संस्थालाई बचाउने र बलियो बनाउने दिशामा नलागेमा स्वास्थ्य बीमा नै संकटमा पर्न सक्छ।
स्वस्थ नागरिक बिना समृद्ध राष्ट्र सम्भव छैन। आर्थिक रूपमा सुरक्षित र सशक्त सार्वजनिक स्वास्थ्य संस्थाबिना स्वास्थ्य बीमा सफल हुन सक्दैन। यही यथार्थलाई केन्द्रमा राखेर आगामी नीति अगाडि बढ्नैपर्छ।
अन्त्यमा, हाम्रा देशका विदुषी प्रधानमन्त्रीको अभिव्यक्तिले जगाएको अपेक्षा र प्रसिद्ध संस्कृत उद्धरणबीचको यो तादात्म्य संयोग मात्र हो त?
“ऋणं कृत्वा घृतं पिवेत्।
यावज्जीवेत् सुखं जीवेत्।
भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः॥”
अर्थात्:
जबसम्म बाँचिन्छ, सुखसँग बाँच।
घ्यु पिउन परे ऋण लिएर पनि पिउ।
शरीर भष्म भएपछि फेरि फर्केर आउने कसरी?