काठमाडौं– रगत सम्बन्धि रोग थालासिमियाबाट पिडित बालकका लागि विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन्।
अर्घाखाँची पाणिनी गाउँपालिका १ का २८ महिने बालक रोनिक परियारलाई उपचार सहयोगका लागि ६५ हजार ५ सय ९७ रुपैयाँ आर्थिक सहयोग गरिएको छ । परियारको पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले सहयोग रकम जुटाइएको कोरियाबाट सन्तोष कश्यपले जानकारी गराए।
बिरामी बालकको सिभिल हस्पिटलमा उपचार भइरहेको छ । संकलित रकम बालकका अभिभावकलाई संकलन अभियन्ता पुनम राईले हस्तान्तरण गरेकी थिइन् ।
परियारको लागि हङकङ, दक्षिण कोरिया, अष्ट्रेलियामा रहेका नेपालीहरुले सहयोग जुटाएका थिए।
थालेसिमिया अथवा ‘अपुष्ट रक्तकोष’ रगत सम्बन्धी हुने विभिन्न रोगहरुमध्येको एउटा अति नै असहज वंशाणुगत रोग हो। यो तीन पहिना देखि ५/६ वर्षसम्म उमेरका वच्चाहरुमा देखिन्छ। अझ कसै कसैलाई त १०/१२ वर्षमा पनि देखिन्छ।
थालेसीमियाका फरक फरक प्रकारका कारण यस्तो हुन गएको हो। यस रोगका रोगीहरुलाई बचाउनका निम्ति आजीवन रगत तथा अन्य औषधहिरु दिइरहनु पर्दछ। यो रोगबाट मुक्ति पाउने अन्य कुनै भरपर्दो उपचार छैन यसर्थ बच्चा जन्माउनु पूर्व नै यो रोगबाट सचेत हुनु एकमात्र यसको भरपर्दो उपाय हो।