काठमाडौं- चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनसनमा रहेका डा गोविन्द केसीको माप्रति अभिनेत्री मनिषा कोइरालाले पनि ऐक्यबद्धता जनाएकी छिन्।
डा केसीको समर्थनमा आज माइतीघरदेखि नयाँ बानेश्वरसम्मको प्रदर्शनीमा उनी पनि सहभागि भएकी छिन्। मध्यान्न १२ बजे माइतीघरबाट सुरु भएको र्यालीमा ‘आइएमविथडाकेसी’ लेखिएको व्यानर समातेर र्यालीमा सहभागि भएकी थिइन्।
नयाँ बानेश्वरमा पुगेपछि कोणसभामा परिणत भएको प्रदर्शनीमा मनिषाले पनि बोल्ने कार्यक्रम राखिएको थियो।
तर, डा केसीको समर्थनमा आयोजित कार्यक्रम छेउमा नै नेपाल तरुण दलले समेत प्रदर्शन गरेको थियो। तरुण दलको प्रदर्शनमा प्रहरीसँग झडप हुन पुगेको थियो। उक्त क्रममा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो।
प्रहरीले तरुण दलको प्रदर्शनमा प्रहार गरेको अश्रुग्यास डा केसी समर्थकको प्रदर्शनमा समेत आइपुगेको थियो। जसका कारण केही समय डा केसी समर्थकको भागाभाग भएको थियो।
अश्रुग्यासका कारण अभिनेत्री मनिषा कोइरालाको आँखामा असर परेपछि उनी त्यहाँबाट निस्केकी थिइन्।
कार्यक्रमस्थलबाट निस्केलगत्तै उने सामाजिक सञ्जाल टुइटरमा ट्विट गर्दै डा केसीको माग पुरा गर्न माथेमा कार्यदलको प्रतिवेदन लागू गर्नुपर्ने उल्लेख गरेकी छिन्। ‘माथेमा कार्यदलले दिएको प्रतिवेदन लागू गर्नु नै एकमात्र तार्किक समाधानको उत्तम विकल्प हो,’ उनले ट्विटमा लेखेकी छिन्।
अभिनेत्री कोइरालाले अनसनरत डा केसीलाई बिहिबार त्रिवि शिक्षण अस्पतालमा पुगेर समेत भेट गरेकी थिइन्।