काठमाडौं– बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका महिला विद्यार्थीमाथि गरेको टिप्पणीका कारण कानुनमन्त्री शेरबहादुर तमाङ पनि विवादमा तानिएका छन्।
बंगलादेशमा डाक्टरको प्रमाणपत्र प्राप्त गर्न महिला विद्यार्थीहरुले आपत्तिजनक कार्य गर्नैपर्ने भन्दै सार्वजनिक टिप्पणी गरेपछि कानुनमन्त्री तमाङ विवादमा परेका हुन्।
आफूलाई नसुम्पिकन प्रमाणपत्र नपाउने आफूले सुनेको भन्दै उनले सार्वजनिक रुपमै महिला विद्यार्थीमाथि आपत्तिजनक अभिव्यक्ति दिएका थिए। मन्त्री तामाङको उक्त टिप्पणीलाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
उनले चावहिलस्थित प्रोक्सिस इन्टरनेसनल एकेडेमीमा एसइई उतीर्ण विद्यार्थीहरुको सम्मानमा भएको एक कार्यक्रममा यस्तो अभिव्यक्ति दिएका थिए। बी एण्ड सी शिक्षण अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले बंगलादेशमा अध्ययनरत छात्राहरुमाथि दुव्र्यहारपूर्ण अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि मन्त्री तामाङको पनि उस्तै अभिव्यक्ति आएको हो।
राप्रपाले माग्याे राजिनामा
राष्ट्रिय प्रजातन्त्र पार्टीले कानुनमन्त्री तमाङको अभिव्यक्ति आपत्तिजनक र अमर्यादित भएको भन्दै पदबाट राजिनामा दिन माग गरेको छ। राप्रपाले एक विज्ञप्ति जारी गर्दै मन्त्रीको राजिनामाको माग गरेको छ।
उता अध्यक्ष कमल थापाले पनि ट्विट गर्दै लेखेका छन्,‘महिला विद्यार्थीहरुका सम्बन्धमा कानुनमन्त्री तामाङ र व्यवसायी प्रसाईंका अभिव्यक्ति आपत्तिजनक र अमर्यादित छन्। महिलाहरुको अस्मिता र चरित्रमा आघात पुग्ने गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्रीलाई बर्खास्त गर्न र प्रसाईंलाई कानुन बमोजिम कारबाही गर्न माग गर्दछु।’

बाबुरामद्धारा स्वतन्त्र छानबिनको माग
नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले पनि कानुनमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै छानबिनको माग गरेका छन्।
सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले लेखेका छन्, ‘बंगलादेशमा पढ्ने हाम्रा महिला डाक्टरहरूमाथि बहालवाला मन्त्री र सत्ताका क्रोनीहरूले गम्भीर सार्वजनिक अभव्यक्ति दिनु अत्यन्त आपत्तिजनक छ। यसबारे स्वतन्त्र छानबिन होस् र आवश्यक कारबाही होस्।’
