काठमाडौं- बुढानिलकण्ठ नगरपालिकाका– १३ चुनीखेलमा एक करोडको लागतमा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छ। भवनलाई आइतबार औपचारिक रुपमा हस्तान्तरण गरिएको छ।
२०७२ सालको भुकम्पले भवन क्षतिग्रस्त भएपछि नयाँ भवन बनाइएको हो। भवन निर्माणको काम ग्लोवल शेर्पस काठमाडौंले गरेको हो। भवन निर्माण सम्पन्न भएपछि निर्माण कम्पनीले हस्तान्तरण गरेको हो।
भवन हस्तान्तरण कार्यक्रममा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रको विकासका लागि लगानी बढाउने बताए। उनले स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी नभएका कारण समस्या आइरहेको भन्दै लगानी बढाउनु पर्नेमा जोड दिएका हुन्।
उनले संघ, प्रदेश र स्थानीय सरकारले समन्वय गरी जनताको घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा पु¥याइने पनि बताए।
‘स्वास्थ्य राज्यको पहिलो प्राथमिकता हो, प्रदेश सरकारले स्वास्थ्य शिक्षा जस्ता आधारभूत सेवालाई व्यवस्थित र गुणस्तरीय बनाउने अपेक्षा गरेका छौँ,’ उनले भने।
निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधि सभा सांसद एवम् पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकार एक्लैको प्रयासले मात्र स्वस्थ समाजको निर्माण गर्न नसक्ने भएकाले सामुदाय र नागरिक समाजको सक्रियता पनि आवश्यक भएको बताए।