काठमाडौं – विश्वव्यापी रुपमा हरेक वर्ष ५९ हजार व्यक्तिको रेबिजले ज्यान लिने तथ्यांक सार्वजनिक भएको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार तीमध्ये आधा जति १५ वर्ष मुनिका बालबालिका रहेको बताइएको छ । विश्वभरी हुने रेबिजको ९५ प्रतिशत एशिया र अफ्रिकामा मात्र हुने गरेको देखाइएको छ । नेपालमा भने विशेष गरी तराई र पहाडमा यस्तो समस्या देखिने गरेको बताइएको छ । नेपालमा आधा जनसंख्या यो रोगको उच्च जोखिममा छन् भने एक चौथाइ मध्यम जोखिममा छन्।
गत आर्थिक वर्षमा मात्रै २ हजार ६ सय ३ सय १२ कुकुरले टोकेको थियो । २ हजार २ सय २ जनालाई कुकुर बाहेक अन्य जनावरले टोकेको थियो । । यीमध्ये २८ हजार ५ सय १४ जनालाई रेबिज लाग्न सक्ने सम्भावना भएका जनावरहरुले टोक्दा २ लाख ८१ हजार ७ सय १८ भायल रेबिज बिरुद्धको खोप खपत भएको थियो।
रेबिज के हो ?
रेबिज लाइसा नामक भाइरसले गर्दा हुने रोग हो । यो भाइरस संक्रमित जनावरको ¥यालबाट घाउको बाटो हुदै शरिरभित्र छिरेर स्नायुको माध्यमले मतिष्कसम्म पुग्दछ । यो भाइरस शरीरमा प्रवेश गरेपछि सुरुमा ज्वरो आउने, घाउ भएको स्थानमा दुख्ने, झमझमाउन, घोचे, पोलेजस्तो हुने र पछि भाइरस मष्तिष्कसम्म पुगेपछि मष्तिष्क तथा स्नायुहरु सुनिने हुन्छ।
प्रभावित व्यक्तिका क्रियाकलापहरु र व्यवहारहरु अत्यधिक उत्तेजित हुने, पानीदेखि डराउने, हावाको चालबाट तर्सिने र केही दिनपछि श्वासप्रश्वास र रक्तसञ्चारमा समस्याआई मृत्यु हुन्छ।
यो रोग लागेपछि मृत्यु निश्चित छ । यसको रोकथामका लागि जनावरबाट भाइरस मानिसमा आउन नदिुनै सर्वोत्तम उपाय हो । त्यसका लागि पाल्तु जनावरहरुलाई व्यवस्थित तरिकाले पाल्ने तथा जंगली जनावरहरुको सम्पर्कमा नआउने उपाय अपनाउनु पर्दछ।
घरपालुवा कुकुरलाई पशु चिकित्सकको सल्लाहअनुसार समय समयमा खोप लगाउने र यसको रेकर्ड गरी राख्ने गर्नुपर्छ।
त्यस्तै समयमै शंकास्पद कुकुर वा अन्य जनावरहरुको टोकाइपछि टोकेको स्थानलाई १५ मिनेट सबुनपानी, डिटोल, आयोडिन जस्ता भाइरस मार्ने कुराले राम्ररी सफा गर्ने र नजिकको स्वास्थ्य संस्थामा गएर चिकित्सकको सल्लाहअनुसार रेबिज रोगको खोप लगाउँदा उपयुक्त हुन्छ।
रेबिजबाट हुने मानव मृत्युलाई शुन्य बनाउने र रेबिज रोगलाई सन् २०३० सम्म निवारण गर्ने विश्वव्यपी लक्ष्य छ। सेप्टेबर २८ लाई विश्व रेबिज दिवस विभिन्न कार्यक्रम गरेर मनाइन्छ । यस वर्षको नारा ‘रेबिज बारे जनचेतना फैलाऔँ, जीवन बचाऔँ’ रहेको छ।