काठमाडाैँ -आज विश्व मुटु दिवस। देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।त्यसै अवसरमा नर्भिक अस्पतालले विश्व मुटु दिवसका अवसरमा आज विशेष कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा बोल्दै स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्दकुमार यादवले सरकारले प्राइभेटसँग हातेमालो गर्दै अगाडी जानुपर्ने बताए। उनले स्वास्थ्य सेवा अरु व्यापार भन्दा फरक हो भन्दै यसलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।
अस्पतालका अध्यक्ष बसन्त कुमार चौधरीले नर्भिकले छिट्टै नै अर्को वर्ष अहिले पार्किङ स्थल रहेको स्थानमा १ लाख स्क्वायर फिटमा १०० बेडको अस्पतालको निर्माण थालनी हुने पनि उद्घोष गरे। यो अस्पताल निर्माणपछि साउथ इष्ट एसियाको कुनै पनि अस्पतालसँग प्रतिष्पर्धा गर्न सक्ने पनि बताए।

त्यसैगरी डा.जय प्रकाश जैसवालले मुटु रोगीहरुले औषधी नियमित सेवन गर्नुपर्ने बताउँदै औषधी भनेको भिटामिन जस्तै मानेर खानुपर्ने सुझाव दिए।नर्भिक अस्पतालमा उपचार गराएका प्रा.रत्नमान डंगोलले आफू मुटु रोगी भएपनि जहिल्यै हाँसेर खुसी साथ समय बिताउँदै अाएकाे बताए। उनले स्वस्थ्य रहन नियमित व्यायाम तथा खानपिनमा ध्यानदिनुपर्ने सुझाए।
कार्यक्रममा १० जना ज्येष्ठ नागरिकलाई दीर्घजीवी सम्मान पनि प्रदान गरिएको थियो।