चितवन– नेपालमा नै पहिलो पटक चितवनमा ‘हाइब्रिड इन्टरनेसनल इमर्जेन्सी मेडिसिन’ (एचआइइएम) तालिम सुरु भएको छ।
आकस्मिक उपचार सेवाका लागि चितवन मेडिकल कलेजले पहिलोपटक ‘हाइब्रिड इन्टरनेसनल इमर्जेन्सी मेडिसिन’ तालिम सुरु गरेको हो।
नेपालमै आकस्मीक उपचारको लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यो तालिम सुरु गरिएको चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले जानकारी दिए।
यस ४ वर्षे तालिमपश्चात् एमबिबिएस पास गरेका विद्यार्थीहरुलाई ‘मेम्बर अफ रोयल कलेज अफ इमर्जेन्सी मेडिसिन’ (एमआरसीइएम) र ‘फेलोसिप इन क्वालिटी इन्प्रुभमेन्ट’ (एफक्यूआइएम)को डिग्री दिइनेछ।
बेलायतको इन्टरनेसनल एकेडेमी अफ मेडिकल लिडरसीप (आइएएमएल) युके, इन्टरनेसनल सेन्टर फर इमर्जेन्सी मेडिसिन (आइसीइएम) युके, डनक्यास्टर एन्ड ब्यासेटल टिचिङ हस्पिटल (डिबिटिएच) युके र नेपालको चितवन मेडिकल कलेजले संयुक्त रुपमा प्रशिक्षण दिनेछ।
इमर्जेन्सी मेडिसिनको विविध विषयमा उच्च तालिमका लागि प्रशिक्षार्थीहरुलाई पहिलो र चौथो वर्ष चितवन मेडिकल कलेजमा र दोश्रो र तेश्रो वर्ष डनक्यास्टर एन्ड ब्यासेटल टिचिङ हस्पिटल बेलायतमा अध्यापन गराइने छ।
यसैबिच हाइब्रिड इन्टरनेसनल इमर्जेन्सी मेडिसिन तालिमको शुभारम्भ गर्न र यसबारे सार्वजनिक जानकारी गराउन दुई दिने ‘चितवन इन्टरनेशनल इमर्जेन्सी मेडिसिन कन्फेरेन्स’ सुरु भएको छ।
कन्फेरेन्सको उद्धघाटन शनिबार नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले गरेका हुन्। उद्घाटनपछि बोल्दै मन्त्री यादवले नेपाली उपचार पद्धतिका लागि चितवन मेडिकल कलेजले थालेको यस कार्य मूलुककै लागि नमूना हुने बताए।
कन्फ्रेन्समा ‘आकस्मिक कक्षमा भिडियो एक्सरेको प्रयोग’ बारे कार्यशाला समेत गरिएको थियो। बेलायतका वरिष्ठ आकस्मिक चिकित्सक डा युआन बालयकारस्ट्रिसले तालिम दिएका थिए।
सो क्रममा चार वर्षे तालिमको लागि चितवन मेडिकल कलेज, इन्टरनेसनल एकेडेमी अफ मेडिकल लिडरसिप, इन्टरनेसनल सेन्टर फर इमर्जेन्सी मेडिसिन र डनक्यास्टर एन्ड ब्यासेटल टिचिङ हस्पिटल बेलायतबीच सम्झौता पत्रसमेत आदानप्रदान गरिएको छ।
दुई दिनसम्म चल्ने कन्फ्रेन्समा देशभरबाट २ सय ५० जना चिकित्सकहरुको सहभागिता रहेको थियो।