नेपालीको महान पर्व बडादसैं सुरु भएको छ। हिन्दु धर्मावलम्बीले आफ्ना पूजा कोठा वा दसैं घरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजा गरी जमरा राखी दुर्गा भवानीको आराधना आरम्भ गरेसँगै बडादसैं सुरु हुन्छ। धार्मिक महत्व बोकेको जमरा टीकासँगै विजयादशमीमा लगाउन मात्र होइन, प्राणीको स्वास्थ्यको सम्वर्द्धन एवं रोगहरुको निवारणका लागि समेत उपयोगी छ।
गहुँको जमराको रसमा एमिनो एसिद, इन्जाइम, भिटामिन र प्रोटिनको मात्रा पर्याप्त पाइने हुनाले शरीर सन्तुलन कायम गर्न र स्फूर्ति बढाउन समेत उपयोगी रहन्छ। गहुँको जमराको रसमा क्लोरोफिल बढी हुन्छ जस्ले हिमोग्लोबिन उत्पादन बढाउँछ र रक्तलाई अधिक अक्सिजन सञ्चार सम्भव बनाउँछ जस्को कारण रातो रक्त कोशिका र सेतो कोशिका निर्माणमा सहयोगी भूमिका रहन्छ।
गहुँको जमराको रसमा भिटामिन एको मात्रा बढी हुने हुनाले यो अँखाका रोगीहरुका लागि अत्यन्तै उपयोगी रहन्छ। गहुँको जमरामा प्राकृतिक पोषण तत्व र एन्टी अक्सिडेन्टको मात्रा बढी हुने हुनाले हाम्रो यौवनमा बढवा ल्याउँछ।
सधैं यसको सेवनले अनुहारको पिम्पल्स, दाग, धब्बा लगायतका छालाका समस्या हटाउन मद्दत गर्दछ। कार्बोहाइड्रेटको अवशोषणमा विलम्ब गराउने गहुँको जमराको जुस मधुमेहका रोगीको लागि लाभदायक रहन्छ। चाडैं कपाल फुल्ने समस्याका लागि नियमित गहुँको जमराको जुस पिउनु उपयुक्त हुन्छ भने कपालमा चाया पर्ने सम्स्याका लागि गहुँको जमराको रसले कपाल धुने र १५ मिनेट पश्चात स्याम्पुले फेरि धुँदा लाभदायक रहन्छ।
गहुँको जमराको जुसले रोगसँग लड्ने क्षमता अभिवृद्धि गर्दछ। यसमा हुने एन्टी अक्सिडेन्टले शरीरबाट फ्री रेडिकल्सलाई बाहिर निकाल्न मद्दत पुर्याउँछ जसका कारण शरीरको स्वास्थ्यमा सुधार ल्याउँदछ।
क्यान्सरका बिरामीले केमोथेरापी र रेडियोथेरापीको दौउरानमा यसको सेवन गर्नु फलदायी रहन्छ। गहुँको जमराको जुसमा क्लोरोफिल र फाइबरको मात्रा बढी हुने हुनाले पाचन क्रियामा अत्यन्तै उपयोगी रहन्छ र पाइल्स, कब्जियतका बिरामीले यसलाई सेवन गर्नु उत्तम मानिन्छ।
गहुँको जमराको जुसले दाँत र गिजालाई मजबुद राख्नुको साथसाथै यो मुख गनाउने, गिजाबाट रगत बग्ने समस्यामा समेत उपयोगी रहन्छ। यसमा एन्टिसेप्टिक गुणसमेत हुने हुनाले कुनै घाउ वा किराले टोकेको स्थानको विष सफा गर्न समेत प्रयोग गर्न सकिन्छ। मोटोपनको समस्या, उच्च रक्तचापको समस्यामा उपयोगी हुने गहुँको जमराको जुस पुरुष र महिला दुवैको प्रजनन क्षमता वृद्धि गराउन उपयोगी हुन्छ।
बिहानै खाली पेटमा गहुँको जमराको जुस पिउनु अत्यन्तै फाइदाजनक रहन्छ र अरु समयमा पिउँदा आधा घन्टाअगाडि र आधा घन्टापछाडि केही पनि खानु हुँदैन। रोगीहरुले आफ्नो रोगको अन्य औषधिलाई निरन्तरता दिंदै यसको सेवन गर्न सक्छन्। र आयुर्वेदका अनुसार निरोगी व्यक्तिहरुले समेत आफ्नो स्वास्थ्यको सम्वर्द्धनका लागि नियमित यसको सेवन गर्नु अति नै उपयुक्त मानिन्छ।