भैरहवा– भैरहवामा भएको १२ किलोमिटर म्याराथन प्रतियोगिताको उपाधी जुम्लाका दुर्गा बहादुर पुन बुढाले हात पारेका छन्।
विश्व पोलियो दिवसको अवसर पारेर भैरहवाका सामाजिक संस्थाहरुले आयोजना गरेको १२ किलोमिटर म्याराथन ३४ मिनेटमा पार गर्दै उपाधी चुमेुका हुन् ।
प्रतियोगितामा राजविराजका अजित कुमार यादव दोस्रो भए भने र बाग्लुङका तिर्थ पुन तेस्रो भएको रोटरी क्लब अफ भैरहवाका सस्थापक अध्यक्ष राजकुमार गुप्ताले जानकारी दिए । यादवले ३४ दशमलव ९ सेकेण्ड र पुनले ३४ दशमलव ४२ सेकेण्डमा १२ किलोमिटर दुरी पार गरेका हुन् ।
राष्ट्रियस्तरका धावकहरु सहित १ सय १८ जनाको सहभागिता रहेको प्रतियोगितामा बुढाले प्रथम हुँदै नगद ५१ हजार प्राप्त गरे भने दोस्रो हुने यादवले २१ हजार र तेस्रो हुने पुनले ११ हजार सहित प्रमाणपत्र प्राप्त गरेको रोटरी क्लव अफ भैरहवाका अध्यक्ष संजिव शर्मा रेग्मीले जानकारी दिए । त्यस्तै दौडमा १०औं स्थान सम्म पर्न सफल धावक र महिला धावकहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।
भैरहवाको लुम्बिनी गेटबाट सुरु भएको म्याराथन नगरका बर्मेलीटोल, नयाँसडक, जनकपथ, बसन्तपुर बाइपास हुँदै सशस्त्र क्याम्प डण्डा, आँखा अस्पताल, देवकोटाचोक, बैंकरोड, मिलनचोक हुँदै विद्रोही चोकमा पुगेर समापन भएको थियो । दौडमा धावकलाई हौसला प्रदान गर्न दक्षिण एसियाका म्याराथन रेकर्डधारी तथा आइकन बैकुण्ठ मानन्धर पनि सहभागी भएका थिए ।
विश्वमा पोलियो नियन्त्रण गर्न अह्म भूमिका खेल्दै आएको रोटरी इन्टरनेशनल र त्यसका शाखाहरुले प्रत्येक वर्ष दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी जनचेतना फैलाउँदै आएका छन् । विश्वलाई पोलियो मुक्त घोषणा गरिए पनि हालसालै पाकिस्तान, अफगानिस्तान र नाइजेरियामा लगायतका देशहरुमा पोलियो देखिएको भन्दै त्यसलाई अन्य मुलुकहरुमा फैलन नदिन जनचेतनामूलक दौड गरिएको रोटरी क्लब अफ भैरहवाका अध्यक्ष रेग्मीले बताए ।
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी, रोटरी क्लब अफ भैरहवा, रोट्रयाक्ट क्लब अफ लुम्बिनी सिद्धार्थनगर, रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनी र रोट्रयाक्ट क्लब अफ भैरहवाले बुधबार विश्व पोलियो दिवसमा दौडको आयोजना गरेका हुन्।

