कञ्चनपुर- खाजा खर्च जोगाएर कञ्चनपुरको झलारी आयुर्वेदिक औषधालयका लागि मेशिन खरिद गरिएको छ। औषधालय व्यवस्थापन समितिका पदाधिकारीले बैठक खाजाका लागि उपलब्ध हुने भत्ताको रकम खर्चेर मेशिन खरिद गरेका हुन।
भत्ताको रकमबाट औषधालयका लागि २० हजार मूल्य पर्ने अक्सिजन ब्लड सर्कुलेट्री मेशिन र १० हजार मूल्य पर्ने इलेक्ट्रिक म्याट खरिद गरिएको औषधालय व्यवस्थापन समितिका सदस्य राजेन्द्रप्रसाद पाण्डेयले बताए। “खाजा भत्ताको रकम सङ्कलन गरी भारतबाट औषधालयका लागि आवश्यक पर्ने मेशिन खरिद गरी हस्तान्तरण गरेका छौँ”, उनले भने।
उपलब्ध गराइएका मेशिनले फिजियोथेरापी गर्नमा सघाउ पुग्ने औषधालयका वैद्य दिवाकर जोशीले बताए। औषधालयमा नगर प्रमुख संरक्षक रहेको सात सदस्यीय व्यवस्थापन समिति रहेको छ।
औषधालयमा आयुर्वेदिक औषधिको सहयोगमा बिरामीको उपचार हुने गरेको छ। औषधालयले पञ्चकर्म सेवासमेत सञ्चालन गरेको छ।