काठमाडौं— इ हेल्थ र टेली हेल्थबारे पहिलो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ।
ठूला अस्पतालबाट दूरदराजमा बसेका जनतालाई सोही स्थानमा कसरी विशेषज्ञ सेवा दिन सकिन्छ भन्ने उद्देश्य राखि यही कात्तिक १५, १६ र १७ गते सम्मलेन हुन लागेको हो।
आज काठमाडौंमा द स्किन हेल्थ एण्ड रेफरल सेन्टरले पत्रकार सम्मलेन गर्दै तीन दिनसम्म चल्ने अन्तर्राष्ट्रिय सम्मेलनमा प्रविधि र उपकरणको प्रयोग गरी स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन केके गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने जानकारी दिएको हो।
द स्किन हेल्थ एण्ड रेफरल सेन्टरका संस्थापक अध्यक्ष एवम् वरिष्ठ छालारोग विशेषज्ञ प्राडा अनिलकुमार झाले टेली मेडिसिनका माध्यमबाट चिकित्सकीय उपचारका साथै इ हेल्थ र टेली हेल्थका माध्यमबाट उपचारका साथसाथै जनचेतना पनि सँगै लैजान सकिने बताए।
उनले भने, ‘इ हेल्थ र टेली हेल्थ विश्वमा धेरै अघि विकास भइसकेको छ, हाम्रो देशमा यसको विकास भर्खर मात्रै सुरु हुन लागेको सन्र्दभमा केन्द्रमा रहेका विशेषज्ञ चिकित्सकहरुसँग पहुँचभन्दा टाढा रहेका र विदेशमा रहेका नेपालीहरुलाई कसरी जनचेतनासहितको चिकित्सकीय सेवा दिन सकिन्छ भन्ने मूल उद्देश्य हो।’
नेपालबाहेक विश्वका भारत, स्वीटजरल्याण्ड, अमेरिका, अस्ट्रिया, फिनल्याण्ड, चीन, न्यूजील्याण्ड, पोल्याण्ड, इटाली, फ्रान्स, स्पेनलगायत देशका टेली मेडिसिनसँग सम्बन्धी विभिन्न विशेषज्ञ चिकित्सक र गैरचिकित्सकहरुको उपस्थिती रहने छ। यसमा मुख्यतया छाला विशेषज्ञ रहने बताइएको छ।
नेपालजस्तो उपकरण, स्रोतसाधन नभएको देशमा कसरी यो सेवा लागू गर्न सकिन्छ भनेर तीन दिनसम्म छलफल हुनेछ। सम्मलेनको अन्तिम दिन अन्र्तराष्ट्रिय बिजनेस कमिटि बनाइ एक देशले अर्को देशमा इ हेल्थ र टेली हेल्थमा सहयोग आदानप्रदान गर्ने वातावरण सिर्जना गरिने जनाइएको छ।
अध्यक्ष झाले अहिले उपलब्ध मोवाइल,क्यामराजस्ता प्रविधिको प्रयोग गरी विशेषज्ञ चिकित्कहरुसँग परामर्श गर्न सकिने वातावरण बनाउन सके हजारौँ खर्च गरी पटकपटक काठमाडौं धाइरहनुपर्ने अवस्था कम हुने बताए।
उनले 11 संगठनले छाला रोग र रेडियोलोजीमा टेली मेडिसिनको सेवा अझ प्रभावकारी रुपमा दिन सकिने उल्लेख गरेको बताए। कार्यक्रममा करिब ४० बढी कार्यपत्र प्रस्तुत गरिनेछ।