काठमाडौं– नर्भिक अस्पतालले हेलिकोप्टरमा उद्धार गरेर ल्याइएका गम्भीर अवस्थाका विदेशी बिरामीको पासपोर्ट खोसेको आरोपको खण्डन गरेको छ। अचेत अवस्थामा हेलिकोप्टरमार्फत् ल्याइएका रसियन नागरिक पावेल छेपेलेनले उपचार रकम तिर्न नसकेपछि पासपोर्ट खोसिएको आरोप अस्पताललाई लगाइको थियो।
उद्धार गरेर ल्याएको हेलिकोप्टर कम्पनीले नै अस्पताललाई बिरामीको पासपोर्ट राख्न दिएको समेत अस्पतालले स्पष्ट पारेको छ । ‘हेलिकोप्टर कम्पनीले हामीलाई बिरामीको पासपोर्ट दिएको हो, हामीले बिरामीबाट खोसेका होइनौँ,’ अस्पतालका जेनरल म्यानेजर रवि शर्माले भने, ‘त्यो कुरा बिरामीलाई पनि जानकारी थियो। उनले रसियामा आफ्नो बुबा र दिदीको फोन नम्बर पनि दिएका थिए। तर ती नम्बर अफ रहेका कारण उनले नै पैसा नल्याएसम्म पासपोर्ट राख्नुहोला भनेका हुन्।’
अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले अस्पतालले गम्भिर अवस्थामा रहेका बिरामीको जीवन बचाउने काम गरेको बताए। ‘जीवन मरणको दोसाँधमा रहेका अचेत बिरामीलाई अस्पतालले उपचार गरेर जीवन बचाउने काम गरेको छ,’ उनले भने, ‘तर अस्पतालले ती विदेशी नागरिकको पासपोर्ट नै खोस्यो भनेर जुन आरोप लगाइएको छ त्यो सरासर गलत हो।’
अस्पतालका जेनरल म्यानेजर रवि शर्माले बिरामीको उपचार सफल भइसकेपछि उपचारका लागि भएको खर्चको माग गरिएको बताए।
‘अचेत अवस्थामा रहेका बिरामीको सफल उपचारपछि अस्पतालले उठेको बिलका आधारमा रकम चुक्ता गर्न भनेको हो,’ उनले भने, ‘ती बिरामीले आफूसँग रकम नभएको र आफूले अस्पतालबाट डिस्चार्ज भएपछि पैसा मगाएर तिर्ने बताएका थिए।’
उनका अनुसार फिस्टेल एयरको हेलिकोप्टरले मनाङबाट अचेत अवस्थामा उद्धार गरेर ल्याएका ती बिरामीको पासपोर्ट हेलिकोप्टर कम्पनीले नै अस्पताललाई राख्न दिएको थियो। पदयात्राका क्रममा उनलाई कहाँ के भयो? उनीमाथि कसले के गरेको हो भन्ने विषय अस्पताललाई कुनै जानकारी नभएको उनी बताउँछन्।
रसियन नागरिक छेपेलेन अन्नपूर्ण पदयात्रामा निस्केका समयमा मनाङमा बिरामी परेका थिए। उनलाई पदयात्रामा रहेका अन्य बिदेशी तथा स्थानीयको सहयोगमा होलीकोप्टरमार्फत् आकस्मिक उद्धार गर्दै उपचारका लागि काठमाडौं ल्याइएको थियो।