राँझा– नेपालगञ्ज औद्योगिक क्षेत्रबाट निस्किने धुुवाँ र ध्वनि प्रदूषण रोक्न उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलाशले परमादेश जारी गरेको छ ।
न्यायाधीशद्वय प्रेमबहादुर कार्की र शान्ति सिंहको संयुक्त इजलाशले बुधबार यस सम्बन्धी परमादेश जारी गरेको हो ।
अधिवक्ताद्वय लोकबहादुर शाह र पवनकुमार गुप्ताले गत जेठ १९ गते अदालतमा रिट निवेदन दर्ता गराएको थियो ।
नेपालगञ्ज औद्योगिक क्षेत्रको धुवाँ र ध्वनि प्रदूषणले स्वच्छ वातावरणमा स्वस्थ रहन पाउने हक अधिकारबाट नागरिक बञ्चित भएकाले नागरिकको वातावरणसम्बन्धी हक अधिकारको संरक्षण गर्न विपक्षीका नाउँमा निषेधाज्ञा र परमादेशको आदेशको मागसहित रिट दायर गरिएको निवेदक लोकबहादुर शाहले बताए।
नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय, नेपालगञ्ज उपमहानगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय बाँके तथा उपरोक्त कार्यालयका प्रमुखविरुद्ध रिट दायर गरिएको उनले जानकारी दिए। रासस