३५ वर्ष अगाडि पहिलो पटक म स्वास्थ्यकर्मी (एनएम) भएर रसुवाको यासा पासाङ हेल्थपोस्ट पुग्दा त्यहाँका मानिसले अस्पतालको नामै सुनेका थिएनन्। गाउँले आफैंले झारफुक गरेर बिरामी निको बनाउँथे।
सुरुसुरुमा त्यहाँको स्वास्थ्य अवस्था देख्दा दया लाग्थ्यो। विस्तारै सानो–तिनो रोगलाई गाउँघरमा नै उपचार गरे पनि झारफुकबाट निकै हुन नसकेपछि अन्तिम अवस्थामा भए पनि बिरामी बोकेर हेल्थपोस्टसम्म ल्याउन थाले। धेरै बिरामीको ल्याउँदाल्याउँदै बाटैमा मृत्यु हुन्थ्यो भने थोरै बिरामी मात्र हेल्थपोस्टसम्म आइपुग्थे।
विकट ठाउँ, चेतनाको अभावले धेरै बच्चा जन्माउने गर्थे। तर जन्मिएकामध्ये थोरै बच्चा मात्र बाँच्थे। त्यो बेलामा बच्चा जन्माउन हेल्थपोस्ट ल्याउनेको संख्या निकै कम हुन्थ्यो।
त्यो बेला अहिलेजस्तो गर्भावस्थाका महिलाले गर्भ जाँच गर्ने चलन थिएन। धेरैजसो महिलाले घरमा नै बच्चा जन्माउँथे। जटिल अवस्था भयो वा घरमा बच्चा जन्माउन नसकेपछि मात्र हेल्थपोस्ट ल्याउने गर्थे। त्यो बेलामा एक त चेतना थिएन, अर्को अहिलेजस्तो सुविधासम्पन्न अस्पताल पनि थिएनन्।
महिला अन्तिम अवस्थामा हेल्थपोस्ट ल्याइपुर्याउँदा उनीहरुको अवस्था निकै दयनीय हुन्थ्यो। आँखाबाट आसु झार्दै उनीहरुको पीडा कम गर्ने कोसिस गर्थें। लाजको कारणले पनि त्यहाँका महिला रोग पालेर बस्थे। अहिले पनि त्यो ठाउँका मानिसहरु उपचार गर्न आएको थाहा पाएपछि भेट्न मन लाग्छ। उनीहरुले आफ्नो स्वास्थ्यको थोरै भए पनि ख्याल गर्न थालेकोमा खुसी लाग्छ।
लगभग ५६ वर्ष स्वास्थ्यकर्मी भएर काम गरिसकेपछि स्टाफ नर्समा मेरो नाम निस्कियो। पहिलो पटक स्टार्फ नर्स भइसकेपछि मेरो पोस्टिङ बन्दिपुर जिल्ला अस्पतालमा भयो। त्यहाँ जान घरबाट निस्कनेबित्तिकै मुसलधारे पानी पर्यो। बाटो चिप्लो थियो, कुनै साधन पनि थिएन। साथमा कोही साथी पनि थिएनन्, बल्लबल्ल अस्पताल पुगें। त्यहाँ पुग्दा बस्ने जस्तो ठाउँ नै थिएन। त्यसैले त्यहाँ धेरै दिन टिक्न सकिनँ।
तीन दिनको बसाइपछि पोखरा अस्पतालमा आएर वीर अस्पतालको लागि सरुवा मागें र वीर अस्पताल आएँ। पोखरा अस्पतालबाट सरुवा भएर जब हाजिर गर्न वीर अस्पताल पुगें, त्यो बेलाको 4 प्रमुखले ‘के खाना आएको, यहाँ तिम्रो हाजिर हुँदैन, कान्ति जाउ’ भनेर ठाडो आदेश दिए। त्यस्तो व्यवहार सम्झँदा अहिले पनि आँसु आउँछ।
प्रशासनको सहयोगले वीर अस्पतालमा त हाजिर पाएँ तर मलाई वार्डमा काम दिइएन। मलाई (सिएसडि)मा बिरामीको लागि मल्हमपट्टि, औषधि पठाउने ठाउँमा काम दिइयो। त्यहाँ काम गरेको एक महिनापछि मात्र पेइङ वार्डमा काम गर्ने मौका मिल्यो।
सरकारी नर्सलाई हेप्ने प्रवृत्तिले गर्दा सुरुसुरुमा न्याम्सका सानासाना बहिनीको अन्डरमा बसेर काम गर्नुप¥यो। सरकारी नियुक्त भएकै कारणले जसको अन्डरमा काम गरे पनि गर्ने हो भनेर आफ्नो काम गरिरहें।
काम गर्ने सिलसिलामा मेरो मुटुको बाहिरी भागमा पानी जम्यो। त्यो बेलामा म निकै कमजोर भएकी थिएँ। मलाई जतिबेला आरामको जरुरत थियो, त्यतिबेला अस्पतालको सधैं व्यस्त हुने वार्डमा सरुवा गरियो। तर जस्तोसुकै परिस्थितिमा पनि काम गर्न भने छाडिनँ। बिरामी पर्दा समेत रातिको ड्युटी पनि गरिरहें।
नयाँ 4 प्रमुख आएपछि भने काम र अनुभवको आधारमा इन्चार्ज बनाएर अस्पतालको बर्न युनिटमा पठाइयो। त्यहाँ जादाँ जिम्मेवारी सम्हाल्न भनियो तर बस्ने कोठा थिएन। कोठा नदिएसम्म जिम्मेवारी लिन्नँ भनेपछि मात्र बस्ने कोठा दिइयो। सरकारी नर्स भएकै कारणले विभिन्न सम्स्या भोग्नु पर्यो मलाई।
मलाई के लाग्छ भने, जिम्मेवारी दिइयो भने कुनै पनि काम गर्न असम्भव छैन। त्यसैले एउटा नर्स ठूलो पोस्टमा गइसकेपछि सानालाई हेप्ने प्रवृत्ति मन पर्दैन। सबैलाई समान व्यवहार गरेर जिम्मेवार दिंदै लैजाने हो भने काम गर्नेको हौसला बढ्दै जान्छ।
(वीर अस्पताल, इएनटी विभागकी4 इन्चार्ज पौडेलसँग सिर्जना खत्रीले गरेकाे कुराकानीमा अाधारित )