आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ।
हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन्। (औसिमम सैक्ंटम) तुलसी 'लैबिएती' कुल अन्तर्गत पर्दछ। यो तुलना रहित हुने हुनाले यसको नाम तुलसी रहेको छ भने यसको रस उपयोगी हुने र देवतालाई समेत चढाइने हुनाले सुरसा पनि भनिन्छ।
तुलसीलाई अंग्रेजीमा सैक्रेड बेसिल वा होली बेसिल पनि भनिन्छ। आयुर्वेद, द्रव्य गुणविज्ञानका अनुसार यसको गुण-लघु,रुक्ष ; रस- कटु,तिक्त; विपाक-कटु र वीर्य उष्ण रहन्छ। तुलसी वातश्लैष्मिक विकारका लागि उपयुक्त रहन्छ।
कृमिरोग,विष्टम्भका लागि उपयोगी हुने तुलसी हृदयदौर्बल्य तथा रक्तविकारमा समेत लाभदायक रहन्छ। कच्छू,दद्रु आदिमा यसको पत्ता पिनेर लगाउन सकिन्छ। मूत्रकृच्छ,शुक्रमेह तथा त्वचागत विकारमा समेत तुलसीको प्रयोग गरिन्छ।
कास,श्वास,पार्श्वशूल,कर्णशूल,शिरोरोग तथा यक्षमा मा तुलसीको पत्रस्वरस प्रयोग गरिन्छ।दीपन,पाचन,अनुलोमन र कृमिघ्न कर्म गर्ने तुलसी प्रतिश्याय, विषमज्वर वा शीतप्रधान ज्वरमा उपयोगी रहन्छ।
वेदनाहर र शोथहरका रुपमा चिनिने तुलसी कफवातशामक र विषनिवारक रहन्छ। यसको प्रयोज्य अंग पत्र,पुष्प,बीज,मूल रहन्छ भने मात्रामा चूर्ण१-३ग्रा,स्वरस ५-१० मि.लि रहन्छ।
(घिमिरे चिकित्सा शास्त्र अध्ययन संस्थानमा व्याचलर अफ आयुर्वेदिक मेडिसिन एण्ड सर्जरी गरिररहेका छन्।)