काठमाडौं– इलाममा अनसनरत डा गोविन्द केसीलाई राति नै काठमाडौं ल्याउने तयारी थालिएको छ। केसीको स्वास्थ्य गम्भीर हुँदै गएपछि उनलाई काठमाडौं ल्याउने तयारी थाालिएको डा अभिषेक राज सिंहले जानकारी दिए।
डा केसीलाई आर्मीको हेलिकप्टरबाट ल्याइँदैछ। उनलाई काठमाडौं त्रिवि शिक्षण अस्पतालमा राखिनेछ ।
केसीको स्वास्थ्यमा विभिन्न ९ वटा समस्या देखिएको थियो। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खटिएका विशेषज्ञ डाक्टरहरुको टोलीले गरेको परीक्षणमा उनको स्वास्थ्यमा खतराका संकेतहरुसमेत देखिएको थियो।
प्रतिष्ठानको अस्पतालका सहनिर्देशक डा विकास साहको टोलीले डा केसीलाई तत्कालै आइसियू र सिसियू भएको अस्पतालमा सार्नुपर्ने बुधबार सुझाव दिएको गियो।
परीक्षणका क्रममा डा केसीको शरीरमा अक्सिजनको मात्रा कम हुँदै ८० प्रतिशतमा झरेको, मुटुको चाल अनियन्त्रित भई घटेर ३५ र बढेर २०० सम्म पुग्ने गरेको, शरीरमा ग्लुकोजको मात्र कम हुँदै गएको, अनसनका कारण नियमित खाँदै आएको मुटुको औषधि खान छुटेको, शरीरमा हानिकारक रसायन बढ्दै गएको लगायतका समस्या देखिएको छ।