काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले डा गोविन्द केसीको १६औं अनसनका विषयमा एक जना अनसन बसेपछि देशै ठप्प हुने कानुनी विधिले लोकतन्त्र नचल्ने बताएका छन्।
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रतिनिधिसभाको बैठकमा केसीसँगको सम्झौता पालना किन नभएको भनी सोधेको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले बहुमत छ भन्दैमा संसदका मर्यादा र गरिमालाई थिचोमिचो गर्न नसक्ने बताए।
केसीको १५औं अनसनको समयमा गरेको सम्झौता तत्कालीन आवश्यकता भएको र सोही अनुरुप सरकारले विधेयक प्रतिनिधीसभामा पेश गरिसकेको भन्दै प्रधानमन्त्री ओलीले अब विधेयक संशोधन नहुने संकेत गरे।
‘म संसदलाई आदेश दिन सक्दिनँ, संसदको निर्देशन पालना गर्छु,’ प्रधानमन्त्रीले भने, ‘मेरो संसदलाई आग्रह छ सरकारको सहमति अनुसार विधेयक पारित होस्।’
सांसद थापाले डा केसीको माग सम्वोधन पारित भएको विधेयकले नगर्ने अवस्था सिर्जना भएको तर कुतर्क राख्दै केसीलाई अनसन बस्न बाध्य पारेको भनेका थिए।
‘प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य समितिले केसीसँग भएको सहमति बदल्यो,’ थापाले प्रश्न गरे, ‘यो विषय प्रधानमन्त्रीको वचनको कुरा हो, केसी ढल्लान् भन्ने हैन प्रधानमन्त्रीप्रतिको आस्था ढल्ला भन्ने हो, प्रधानमन्त्रीलाई सोध्न चाहन्छु यसलाई जोगाउने कि ढाल्ने?
थापाको प्रश्नमा प्रधानमन्त्री ओलीले संसद र संसदीय सर्वोच्चताको प्रश्न छ भन्दै जनता सार्वभौमसत्ता सम्पन्न भएको र जनताको अधिकार प्राप्त संस्था कानुन निर्माण, सरकार गठन र परिर्वतन गर्न सक्ने भएकाले आफूले त्यसमा हस्तक्षेप गर्न नसक्ने बताए।
‘खास जनताको सत्ता प्रयोग गर्ने संसद यसको सार्वभौकिताको प्रश्न हो,’ उनले भने, ‘संसदको सर्बोच्चताको हैसियतप्रति, विधेयक निर्माणप्रति म नतमस्तक छु।’
१६औं अनसन जारी रहेको प्रति आफू जानकार रहेको भन्दै प्रधानमन्त्री ओलीले एक जना अनसन बसेपछि देशै ठप्प हुने अवस्था आउन नहुने बताए।
सरकारले गरेको सम्झौता दुई पटा र पक्ष भएको भन्दै प्रधानमन्त्रीले त्यस अनुसारको दायित्व पूरा गरेको दाबी गरे। ‘सम्झौता सत्य निरुपण होइन। सम्झौता हो। तत्कालीन परिस्थितिको उपज हो। त्यस परिस्थितिमा सम्झौता गर्यौं,’ उनले भने, ‘त्यही अनुसार सरकारले विधेयक संसदमा प्रस्तुत गरेको थियो, संसदको सर्वोच्चताप्रति प्रधामन्त्री र सरकार सचेत छ।’
बहुमत छ भन्दैमा संसदका मर्यादा र गरिमालाई थिचोमिचो गर्न नसक्ने भन्दै ओलीले संसदलाइ आग्रहमात्र गर्न सक्ने बताए ।
संसदका समितिले छलफल गरेर आवश्यक संशोधन गर्न सक्ने भन्दै प्रधानमन्त्री ओलीले सरकारले जे ल्यायो त्यो समितिले पास गर्दैन भन्ने बुझ्न जरुरी रहेको बताए।
‘हरेकले आफ्ना सीमा र कानुन पालना गर्नुपर्छ भनेर ख्याल गर्न आग्रह गर्दछु,’ प्रधानमन्त्रीले भने, ‘पृथ्वी गुरुत्वार्कणको थ्योरी अनुसार घुम्न बाध्य छ, चन्द्रमा पनि सूर्यको वरिपरि घुम्न बाध्य छ, हामी धर्तीका मान्छे पनि यही बाध्यतामा छौं।’
म जे भन्छु त्यही हुनु पर्छ भन्न नमिल्ने भन्दै उनले सरकार केसीसँग गरेको सहमतिप्रति प्रतिबद्ध रहेको दाबी गरे।