जुम्ला-कर्णाली राजमार्ग अन्तरगतका छोटा तथा लामो दुरीमा चल्ने सवारीसाधनका चालकको स्वास्थ्य परिक्षण गरिएको छ। स्वास्थ्यमा आउन सक्ने खराबीका कारण दुर्घटना निम्तने सक्ने भन्दै स्वास्थ्य परिक्षण गरिएको हो।
जिल्ला ट्राफिक कार्यालय जुम्लाको पहलमा कर्णाली यातायात व्यवस्था कार्यालय, नेपाल नेत्रज्योती संघ जुम्ला र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको समन्वयमा जुम्ला बसपार्कमा स्वास्थ्य शिविर राखेर चालकहरुको स्वास्थ्य परिक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रमुख माधव रावतले जानकारी दिए। पछिल्लो समयमा स्वास्थ्य अवस्था कमजोर भएका कारण यात्रामा समस्या हुने गरेको भन्दै सुरक्षित यात्राको लागि स्वास्थ्य परिक्षण गरिएको उनको भनाइ छ।
कर्णाली राजमार्गमा सञ्चालन हुने ट्याक्टर, बस, जीप, अटोरिक्सा, मालबाहाक सवारीका चालकहरुको स्वास्थ्य परीक्षण गरी सडक दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले स्वास्थ्य शिविर संचालन गरिएका थियो ।
कर्णालीमै पहिलो पटक स्वास्थ्य शिविरका माध्यमवाट स्वास्थ्य जाँच गर्न पाउँदा चालकहरु खुसी देखिन्थे।
सो शिविरमा सवारी साधन सञ्चालनका लागि हुनुपर्ने कागजात, सवारीचालक अनुमति पत्र, सडक अनुमति पत्र, बिमा लगायतका कागजातहरुको पनि चेकजाँच गरिएको थियो।शिविरमा ७७ सवारी चालकको स्वास्थ्य परीक्षण गरिएको थियो भने आवश्यक कागजात तयार नगरी चलेकाहरु कार्वाहीमा परेका थिए।
त्यसैगरी चालकहरुको आखाँको पनि जाँच गरिएको थियो। आँखा अस्पताल जुम्लाका चिकित्सक कालिबहादुर रावतले सवारी चालकको आँखामा खासै समस्या नदेखिएको बताए ।
उनले भने,‘कमजोर आँखाका कारण पनि कतिपय दुर्घटना हुने गरेका छन्, पटक–पटक आँखा उपचार केन्द्रमा पुगेर आँखा जाँच गराउनु पर्छ । त्यसका लागि जुम्ला आँखा उपचार केन्द्र सदैव तयार रहने छ।’
स्वास्थ्य शिविरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सक दिनेश शाही र रोजनिम श्रेष्ठ खटिएका थिए। केहि चालकहरुले बढी मदिरापान र धुम्रपान सेवन गर्ने गरेकोले कलेजोमा असर गरेको लक्षण देखा परेको चिकित्सकहरु बताउँछन्।
चिकित्सक शाहीले चालकहरुको हात काप्ने, आँखा पहेलो देखिने जस्ता लक्षण देखिएको बताए। सवारी चालकहरु स्वस्थ रहनका लागि लागि मध्यपान र धुम्रपान न्यूनिरकण गर्नुपर्ने चिकित्सक दिनेश शाही सुझाव दिन्छन्।
जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रमुख रावत आगामी दिनमा पनि स्वास्थ्य शिविरका माध्यमवाट चालकहरुको स्वास्थ्य अवस्था बुझ्ने कामले निरन्तरता पाउने बताए।
उनले भने,‘अहिले सडक सवारीयात्रुको बाध्यता बनेको छ, यात्रा सुरक्षित गर्नको लागि चालक सुरक्षित हुन जरुरी छ । त्यसका लागि नियमित रुपमा स्वास्थ्य परिक्षणका काम गर्नु पर्ने देखिन्छ। सुरक्षित यात्रा, स्वस्थ चालक निर्माणका लागि ट्राफिक अभियान जारी नै रहने छ ।’