काठमाडौं– सोलिडारिटी फर डा गोविन्द केसी अलायन्सले शनिबार माइतिघरमा दबाबमूलक कार्यक्रम गर्ने भएको छ। डा केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दासमेत सरकारले कुनै चासो नदेखाएको भन्दै दबाब सिर्जनाका लागि कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।
‘हामी हजारौँ डा. केसी मिलेर लुटतन्त्रलाई निर्णायक चुनौती दिऔँ’ भन्ने नाराका साथ सबै प्रदेशका मुख्य सहरका मुख्य चोकमा र्याली गरिने संयोजक डा. जीवन क्षेत्रीले जानकारी दिए ।
दिउँसो १२ बजे माइतीघरमा भेला भएर संसद् भवन रहेको नयाँबानेश्वरसम्म र्याली र बानेश्वरमा कोणसभाको कार्यक्रम घोषणा गरिएको संयोजक डा क्षेत्रीले बताए ।
डा केसीको जीवनरक्षाका लागि आम नागरिकलाई सबै प्रदेशका मुख्य सहरका मुख्य चोकमा भेला भएर सहयोग गरिदिन अलायन्सले अनुरोधसमेत गरेको छ ।
प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिले डा केसीसँगको सम्झौताविपरीत विधेयक पारित गरेपछि उनी पुन: १६औँ अनसन बसेका छन् ।