काठमाडौं– तीनदेखि शिक्षण अस्पतालमा उपचाररत डा गोविन्द केसीले आफूलाई आइसियू बाहिर सारिदिन अनुरोध गरेका छन्। आफूले 'बेड अकुपाई' गर्दा आइसियू जरुरी भएका सर्वसाधारण बिरामी मर्कामा पर्ने भन्दै उनले आफ्नो उपचारमा संलग्न मेडिकल टिमलाई यस्तो अनुरोध गरेका हुन्।
डा केसीको स्वास्थ्य अवस्था गम्भीर रहेकाले त्यहीँ उपचाररत रहन आफूहरुले गरिरहेको आग्रह अस्वीकार गर्दै आइसियूबाट निस्किने चाहना व्यक्त गरेका डा सुवास आचार्यले बताए। शिक्षण अस्पतालको आइसियू इन्चार्जसमेत रहेका क्रिटिकल केयर स्पेसलिस्ट डा आचार्यले भने, ‘उहाँले आज दिउँसोसम्ममा आइसियू बाहिर सार्न अनुरोध गर्नुभएको छ।’
डा केसीको चाहनाका विषयमा उनको उपचारमा संलग्न मेडिकल टिमले आवश्यक जाँच र सल्लाह गरिरहेको उनले बताए। बाहिर संक्रमण हुन नसक्ने खालको ठाउँमा आवश्यक उपकरणको व्यवस्था गरेर मात्रै उनलाई सार्न सकिने डा आचार्य बताउँछन्। त्यस्तो स्थानको पहिचान गरेर आवश्यक तयारी गरिएपछि दिउँसोसम्म सार्न सकिने डा आचार्य बताउँछन्।
‘म चिकित्सा शिक्षा सुधार होस् भनेर ज्यान नै दाउमा राखेर भोकहड्ताल गरिरहेको छु। त्यसैले मलाई आइसियूमै राख्नुपर्दैन। आइसियू बेडको अभावमा सर्वसाधारणलाई समस्या नपरोस्,’ उनको भनाईलाई उद्धृत गर्दै डा आचार्यले भने।
अनसनरत डा केसीको स्वास्थ्य निरन्तर खस्किँदो छ। उनलाई छातीको संक्रमण नियन्त्रणका लागि एन्टिबायोटिक चलाइएको छ। डा केसीलाई छाती दुख्ने, रिंगटा चल्ने, मांसपेशीको दुखाइ र कमजोरी महशुस भइरहेको छ। उनको रक्तचाप पनि न्यून रहेको छ भने अक्सिजन पनि कम हुँदै गएपछि थप अक्सिजन दिइएको छ। यसैगरी ब्लड सुगर र फस्फोरस पनि कम रहेको चिकित्सकहरुले बताएका छन्।
उनलाई चिकित्सककाे निरन्तर निगरानीमा राखिएकाे छ। जुनसुकै बेला उनको स्वास्थ्य अवस्था जटिल हुन सक्नेतर्फ उपचारमा संलग्न चिकित्सकले सचेत गराइरहेका छन्।