काठमाडौं - चिकित्सा शिक्षा विधेयक विगतमा गरिएको सहमति अनुसार नै आउनु पर्ने लगायतका माग राख्दै आमरण अनसनमा रहेका डा गोविन्द केसीलाई आइसियूबाट वार्डमा सारिएको छ।
आफूले ‘बेड अकुपाई’ गर्दा आइसियू जरुरी भएका सर्वसाधारण बिरामी मर्कामा पर्ने भन्दै वार्डमा सार्न डा केसीले नै आग्रह गरेपछि आइसियूबाट सारिएको हो।
उनलाई अस्पतालको ५०२ नम्बर बेडमा राखिएको डा केसीका समर्थक प्रितम सुवेदीले जानकारी दिए।
डा केसीको स्वास्थ्य अवस्था गम्भीर रहेकाले त्यहीँ उपचाररत रहन आफूहरुले गरिरहेको आग्रह अस्वीकार गर्दै आइसियूबाट निस्किने चाहना व्यक्त गरेका डा सुवास आचार्यले बताए।
अनसनरत डा केसीको स्वास्थ्य निरन्तर खस्किँदो छ। उनलाई छातीको संक्रमण नियन्त्रणका लागि एन्टिबायोटिक चलाइएको छ। डा केसीलाई छाती दुख्ने, रिंगटा चल्ने, मांसपेशीको दुखाइ र कमजोरी महशुस भइरहेको छ। उनको रक्तचाप पनि न्यून रहेको छ भने अक्सिजन पनि कम हुँदै गएपछि थप अक्सिजन दिइएको छ। यसैगरी ब्लड सुगर र फस्फोरस पनि कम रहेको चिकित्सकहरुले बताएका छन्।
उनलाई चिकित्सकको निरन्तर निगरानीमा राखिएको छ। जुनसुकै बेला उनको स्वास्थ्य अवस्था जटिल हुन सक्नेतर्फ उपचारमा संलग्न चिकित्सकले सचेत गराइरहेका छन्।
चिकित्सा शिक्षा विधेयकमा आफूसँग भएको सहमतिअनुसार व्यवस्था हुनुपर्ने लगायत माग राखेर १२ दिनदेखि डा केसी अनसनरत छन्।
पुस २५ देखि इलाममा अनसन बसेका डा। केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि शुक्रबार बिहान हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। उनलाई त्रिवि शिक्षण अस्पतालको आइसियूमा भर्ना गरिएको हो।
उनले आफूलाई अनसन बस्ने ठाउँमा सार्न अनुरोध गरेको चिकित्सकहरूले बताएका छन्।