काठमाडौं– डा गोविन्द केसी अनसनको मुख्य मागविपरीत आज चिकित्सा शिक्षा विधेयक संसदमा पेस हुँदैछ। यसअघिको सहमतिविपरीत सरकारले चिकित्सा शिक्षा विधेयक संसदमा पेस गर्न लागेको भन्दै डा केसी गत पुस २५ देखि आमरण अनसनमा छन्।
उनले १५औं अनसनका क्रममा सरकारले आफूसँग गरेको सहमतिविपरित सरकार अघि बढ्न लागेको आरोप लगाउँदै विधेयक खारेजीको माग गरेका छन्। तर, सरकार भने डा केसीका अधिकांश मागको सम्बोधन भएको दाबी गर्दै विधेयकलाई जस्ताको तस्तै पारित गर्ने तयारीमा छ।
आज मध्यान्ह १२ बजेका लागि बोलाइएको संघीय संसदको प्रतिनिनिधिसभा बैठकमा ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने कार्यसूची छ। सोसँगै बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन्।
उता प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भने आजको संसद बैठक अवरोध गर्ने तयारी गरेको छ। कांग्रेसले डा केसीसँग यसअघि भएका सहमति हुबहु कार्यान्वयन हुनुपर्ने माग गर्दै संसद अवरुद्ध गर्ने तयारी गरेको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बताए।
उनले संसदमा डा केसीसँग भएका सहमति कार्यान्वयन तथा कांग्रेसका पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताललाई केन्द्र सरकारको स्वामित्वबाट हटाउन लागेकाे विषयलाई उठाइने जानकारी दिए।
‘यी दुई विषयमा हामी हाम्रा कुरा राख्छौं, त्यसमाथि सरकारले यसअघि आफैंले गरेको सहमतिलाई कुल्चिन मिल्दैन’, प्रमुख सचेतक खाँडले भने, ‘यदि सुनुवाई भएन भने हामी संसद बैठक नै अवरुद्ध गर्छौं।
यसबाहेक डा केसीले यसपटक द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीलाई अन्तर्राष्ट्रिय कानुनअनुसार सजाय दिनुपर्ने तथा निर्मला पन्त हत्याका दोषीका पत्ता लगाएर कारबाही गर्नुपर्नेसमेत माग राखेका छन्।