काठमाडौं– डा गोविन्द केसी अनसनको बेवास्ता गर्दै सरकारले आज चिकित्सा शिक्षा विधेयक संसदमा पेस गर्दैछ।
आज मध्यान्ह १२ बजेका लागि बोलाइएको संघीय संसदको प्रतिनिनिधिसभा बैठकमा ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने कार्यसूची छ। सोसँगै बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन्।
यसअघिको सहमतिविपरीत सरकारले चिकित्सा शिक्षा विधेयक संसदमा पेस गर्न लागेको भन्दै डा केसी गत पुस २५ देखि आमरण अनसनमा छन्।
उनले १५औं अनसनका क्रममा सरकारले आफूसँग गरेको सहमतिविपरित सरकार अघि बढ्न लागेको आरोप लगाउँदै विधेयक खारेजीको माग गरेका छन्। तर, सरकार भने डा केसीका अधिकांश मागको सम्बोधन भएको दाबी गर्दै विधेयकलाई जस्ताको तस्तै पारित गर्ने तयारीमा छ।
यसबाहेक डा केसीले यसपटक द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीलाई अन्तर्राष्ट्रिय कानुनअनुसार सजाय दिनुपर्ने तथा निर्मला पन्त हत्याका दोषीका पत्ता लगाएर कारबाही गर्नुपर्नेसमेत माग राखेका छन्।
यसबाहेक संसदमा आज अन्य ४ विधेयकसमेत पेस गर्ने कार्यसूची छ।
भिडियाे: