काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जिपी कोइराला श्वासप्रश्वास केन्द्र, तनहुँ र सुशील कोइला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई अबिलम्ब केन्द्र सरकार मातहत राख्न तथा अनसनरत डा गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनको माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ।
कांग्रेसको अवरोधपछि संसद १५ मिनेटका लागि स्थगित भएको छ। संसदमा चिकित्सा शिक्षा विधेयक पेस गर्ने तयारी भइरहेको छ।
बैठकमा ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने कार्यसूची छ। सोसँगै बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन्।
यसअघिको सहमतिविपरीत सरकारले चिकित्सा शिक्षा विधेयक संसदमा पेस गर्न लागेको भन्दै डा केसी गत पुस २५ देखि आमरण अनसनमा छन्।