काठमाडाैं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेपछि सोमबार दाेस्राे पटक बसेकाे राष्ट्रियसभाकाे बैठक पनि स्थगित भएकाे छ।
कांग्रेसले जिपी कोइराला श्वासप्रश्वास केन्द्र, तनहुँ र सुशील कोइला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई अबिलम्ब केन्द्र सरकार मातहत राख्न तथा अनसनरत डा गोविन्द केसीसँग भएका सहमति कार्यान्वयनकाे माग गर्दै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेपछि आजकाे बैठक स्थगित भएकाे हाे।
पहिलाे पटक स्थगित भएकाे आधा घन्टापछि बसेकाे बैठकमा सुरुदेखि नै कांग्रेस सांसदहरुले आफ्नाे स्थानमा उभिएर विराेध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले बैठक स्थगित भएकाे जानकारी दिएका थिए।
यसअघि पहिलाे पटक बसेकाे बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरुले टेबल ठोक्दै बोल्न समय माग गरेका थिए।
कांग्रेसले ती दुई अस्पताललाई तत्काल संघीय सरकार मातहत ल्याउने निर्णय नभएसम्म सदन सञ्चालन हुन नसक्ने भन्दै अवरोध गरेको हो।
साेपश्चात् अध्यक्ष तिमल्सिनाले नेपाली कांग्रेसकाे राष्ट्रियसभाका प्रमुख सचेतक सरिता प्रसाईंलाई बोल्न दिएका थिए। सांसद प्रसाईंले मुलुकभरका ११ मध्ये ९ वटा उपचार केन्द्रलाई संघीय सरकार मातहत राख्ने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै ती दुई संस्थालाई पनि केन्द्रीय सरकार मातहत ल्याउने निर्णय नभइन्जेल सदनको कारबाही अघि बढ्न नसक्ने बताइन्।
'यो सरकारले खोजेको के हो? गोविन्द केसीसँग गरेको सम्झौता पालना गर्न सकेको छैन। प्रतिपक्ष सडकमा जाओस्, निहुँ खोजोस् भन्ने चाहेको हो भने...'
नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्र प्रसाद पाण्डेले पनि दुई अस्पतालकाे बारेमा मात्रै निर्णय किन नगरिएकाे भनी प्रश्न गरे। 'स्वास्थ्य मन्त्रालयले ११ वटा अस्पतालकाे नाम पठाएको थियो। ९ वटाको भयो, २ वटाको बारेमा किन निर्णय भएन? किन गरिएन? के कारणले गरिएन? अब दुई वटा अस्पताल कहाँ रहन्छन् त?', पाण्डेले भने, 'संघीय सरकार मातहत रहनुपर्छ भनी निर्णय गर्नुपर्छ भन्ने हाम्रो माग हो। प्रष्ट निर्णय नभएसम्म सदनको कारबाही अघि नबढाइयोस्।'
कांग्रेसले जवाफ माग गरेपछि अध्यक्ष तिमल्सिनाले स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र कुमार यादवलाई बोल्न समय दिएका थिए।
यादवले गिरिजा र सुशील कोइरालाको नाममा रहेको कुनै अस्पताल खारेज नभएको जानकारी सदनलाई गराएका थिए। उनले ९ वटा अस्पतालको विकास समितिका विषयमा मात्र निर्णय भएको जनाए।
राज्यमन्त्री यादवले सरकारकाे तर्फबाट स्पष्टीकरण दिए पनि कांग्रेस सांसदहरुले उभिएर विरोध गरिरहे।
अध्यक्षले आसन ग्रहणका लागि पटक-पटकको आग्रहपछि पनि कांग्रेस सांसदहरु उभिएर विरोध जनाइरहेपछि बैठक आधा घण्टाको लागि स्थगित भएको थियाे।
दाेस्राे पटक बसेकाे बैठकमा आधा घन्टाभन्दा बढी प्रतिपक्षी दलका नेताहरु उठिरहेपछि आजका सबै कार्यसूची हटाई सोमबारसम्मका लागि बैठक स्थगित गरिएको छ।