काठमाडौं– चिकित्सा शिक्षा विधेयक पारित गर्ने विषयमा सत्तापक्षले पेलेर जाने तयारी गरेको छ। प्रतिनिधि सभामा विचाराधीन विधेयकलाई आज मंगलबार कुनै पनि हालतमा पारित गर्ने मनसायका साथ सत्तापक्षले आफ्ना सांसदहरुलाई अनिवार्य रुपमा उपस्थित हुन ह्विप जारी गरेको छ।
नेकपाको यो तयारीले प्रतिनिधि सभामा सत्तापक्ष र विपक्षबीच एकआपसमा भिडन्त हुने खतरा देखिएको छ। यही विधेयकको विषयमा डा गोविन्द केसीको १६औं अनसन चलिरहेको समयमा जबरजस्ती विधेयक पारित गर्ने सरकारको तयारीका कारण प्रतिनिधि सभामा टकराव हुने खतरा देखिएको हो।
सोमबारको बैठकमै विधेयक पारित गर्ने तयारी सत्ता पक्षको भए पनि प्रतिपक्ष नेपाली कांग्रेसले अवरोध गर्दा असम्भव भएको थियो। नेपाली कांग्रेसले केसीको माग पूरा हुनुपर्ने लगायत केही बुँदामा असहमति राख्दै विरोध गरेको थियो।
सरकारले विगतमा गरेको सहमति विपरीत चिकित्सा शिक्षा विधेयक संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट बहुमतले पारित गराएको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ। तर सरकार भने केसीको सम्झौता पालना गर्नेभन्दा सार्वभौम संसदको हवाला दिंदै बलपूर्वक विधेयक पारित गर्ने तयारीमा रहेको छ।
मंगलबार बस्ने प्रतिनिधि सभाको बैठकले चिकित्सा विधेयक पारित गर्नेगरी आफ्ना सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि ह्पि जारी गरेको एक सांसदले बताए।
बहुमतको आधारमा चिकित्सा विधेयक पारित गर्नेगरी सत्तारुढ दलले आफ्ना सदस्यहरुलाई तयारीमा रहन निर्देशन दिएको उनले बताए। मन्त्रीपरिषदले मान्यता नदिएको दुई अस्पतालसम्बन्धी निर्णय नसच्चिएसम्म कार्यसूचीमा प्रवेश गर्न आफूहरुले नदिने कांग्रेस सांसद पुष्पा भुसालले बताइन्।
‘सरकार गल्ती गर्दै छ तर संसद पनि सोही रुपमा चल्न हुँदैन,' उनले भनिन्, ‘प्रतिपक्ष विना कसरी चल्ला र संसद।’