काठमाडौं– चिकित्सा शिक्षा क्षेत्रका वेथिति अन्त्यका लागि अनसनरत डा गोविन्द केसीले जनतामुखी र विद्यार्थीमुखी चिकित्सा शिक्षा ऐन ल्याउन आग्रह गरेका छन्।
१५औं अनसनका क्रममा भएको सहमति विपरीत सरकारले चिकित्सा शिक्षा विधेयक संसदमा पेस गरेको विरोधमा डा केसी गत पुस २५ देखि अनसनमा छन्। स्वास्थ्य अवस्थामा खराबी आएपछि इलामबाट काठमाडौं ल्याइएका डा केसी त्रिवि शिक्षण अस्पतालको आइसियू छोडेर ‘जनरल वार्ड’मा भर्ना भएका छन्।
त्रिवि शिक्षण अस्पतालमा रहेका डा केसीले एक भिडियो सन्देश जारी गर्दै सरकारले ल्याएको ‘माफियामुखी विधेयक’लाई संसदबाट पारित हुन नदिने काममा सघाउन अपिल गरेका छन्।
‘जनतामुखी र विद्यार्थीमुखी बुँदाहरु हटाएर माफियामुखी बुँदाहरु राखेर जुन विधेयक समितिबाट पािरत गरिएको छ। हामीसँग सम्झौता भएअनुसार जनतामुखी र विद्यार्थीमुखी बुँदाहरु थपेर माननीयज्यूहले जनतामुखी र विद्यार्थीमुखी ऐन ल्याउन सहयोग गरिदिनुहुन्छ भन्ने विश्वास छ र अनुरोध पनि गर्दछु’, डा केसीलले भने।
उता सरकारले भने डा केसीको अनसनलाई बेवास्ता गर्दै ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’लाई पारित गर्ने दाउमा छ। सोमबारको संसद बैठकमा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेपनि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सदन अवरुद्ध गरेपछि बैठक स्थगित भएको थियो।
आज दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहित विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
यता प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भने डा केसीसँग यसअघि भएका सहमति कार्यान्वयन तथा कांग्रेस पूर्वसभापतिहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका दुई अस्पतालहरुलाई खारेजी प्रक्रियामा लैजाने सरकारको निर्णय फिर्ता नभएसम्म सदन अवरुद्ध जारी रहने स्पष्ट पारेको छ।
मंगलबार बसेका राष्ट्रियसभा र प्रतिनिधिसभा दुबै सदनको बैठक कांग्रेसले अवरुद्ध गरेको थियो।