काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले सभामुख कृष्णबहादुर महराको भूमिका अन्यायपूर्ण भएको आरोप लगाएका छन्। डा गोविन्द केसीको अनसन, चिकित्सा शिक्षा विधेयक तथा संसदमा देखिएको किचलोको सम्बन्धमा आज रिपोर्टर्स् क्लबमा पत्रकार सम्मेलन गर्दै सांसद थापाले सभामुखको पछिल्लो भूमिका आग्रहपूर्ण तथा न्यायसंगत नभएको आरोप लगाएका हुन्।
‘सभामुखमा नियुक्त भएपछि जोकेहीको पनि दलसँगको आवद्धता रहँदैन’, सांसद थापाले भने, ‘ अरुको निर्देशनमा चल्न खोजियो भने यसले हामीलाई पुरानै दिनमा फर्काइदिन्छ। हिजोमा फर्किन खोजियो भने स्थिति मुडभेढमा जान्छ। यसमा सरकारमा जिम्मेवार हुनुपर्छ। सभामुखले विवेक पुर्याउनुपर्छ।’
सांसद थापाले संसदमा पेस भएको ‘राष्ट्रिय चिकित्सा विधेयक, २०७५’ अन्य विधेयक जस्तो नभएको जिकिर गर्दै भने, ‘यो विधेयक अन्य विधेयकभन्दा फरक छ। डा केसीका माग सम्बोधनलाई लिएर सरकारले सहमति र संसदले समन्वयकारी भूमिका निभाउने सहमति जनाएका छन्। त्यसकारण यसपटक प्रश्न सरकारप्रति मात्रै होइन संसदप्रति पनि छ।’
उनले संसदले नै डा केसीका मागलाई सम्बोधन गर्नेगरी समन्वयकारी भूमिका निभाउने सहमति गरेर आएकोमा सभामुखको पछिल्लो भूमिका आफूहरुलाई मान्य नभएको बताए।
‘सदन चलाउने कसले हो? पार्टीले हो? सरकारले या सभामुखले हो?’, उनले भने, ‘अमुक पार्टीका नेताले खुलामञ्चबाट, चोकचौताराबाट हाम्रो निर्णय गइसक्यो भनेर सभामुखलाई आदेश दिने र सभामुखले टुलुटुलु हेरेर बस्ने अवस्था हुन्छ र यसरी नै सदन चलाउन खोजिन्छ भने नेपालको संसदले सार्वभौम संसदको रुपमा आफ्नो भूमिका निभाउन सफल भएको छ त? भन्ने प्रश्न उब्जिन्छ। यो विधेयकको सम्बन्धमा जुन खालको भूमिका देखाइएको छ, हामीलाई चित्तबुझ्दो छैन।’
उनले मंगलबार संसदमा भएको घटनाप्रति सभामुखले आफूहरुसँग शुक्रबार संसद बैठक अघि छलफल गर्ने र आगामी दिनमा त्यस्ता घटना नदोहोरिनेमा आश्वस्त पार्नेमा आफूहरु आशावादी रहेको बताए। यसमा सरकारले पनि आफ्नो तर्फबाट समन्वयकारी वातावरण बनाउन पहल गर्नेमा आफूले अपेक्षा राखेको उनको भनाइ थियो।
‘यदि मुडभेढ गर्छाै, पेलेरै देखाइदिन्छाैं भनिन्छ भने त्यसपछि हामीसँग प्रतिउत्तर दिनुभन्दा बाहेक विकल्प रहँदैन,’ थापाले चेतावनी दिए।
उनले आफ्नो पार्टीले एउटै पार्टीबाट सभामुख र उपसभामुख हुन नहुने विषय संसदमा फेरि उठाउनु पर्नेमा जोड दिए।
सांसद थापाले प्रधानमन्त्रीले चाहेमा यस विधेयकलाई समान्य ढंगबाट किनारा लगाउन सक्ने दाबी गरे। ‘संसदको समितिले पारित गरी संसदमा प्रस्तुत भएको विधेयकलाई मन्त्रीले पुनः फिर्ता लिई सच्याउन पाइन्छ र फेरि विधेयक संसदमा पेस गर्न फाइन्छ। यदि प्रधानमन्त्रीले चाहनुभयो भने यसपटक बाटो सजिलो छ।’, थापाले भने, ‘अनसनरत डा केसीसँग सरकारले वार्ता पनि गर्नुपर्दैन।’
उनले सजिलो बाटो हुँदाुहँदै पनि मैले चाहेको हो तर संसदले मानेन भन्नु प्रधामन्त्रीको 'लाचारीपन' भएको टिप्पणी गरे।
सांसद थापाले प्रधामनन्त्रीले नेपाल फर्किइसकेपछि दुई अस्पतालको खारेजी र अनसनको विषयलाई सामान्य रुपमा सल्टाउनेमा आफू आशावादी रहेको जनाए। ‘डाभोस गएर प्रधानमन्त्रीले म देशको नोकर हुँ भन्नुभएको छ, नेपाल फर्किइसकेकपछि अवश्य उहाँले आफूले भनेको पुरा गर्नुहुनेछ’, थापाले भने, ‘सरकारले अल्पमतको कारण पेलेरै जान्छु भन्नु हुँदैन, हामी मुडभेढ गर्न चाहन्नौं, तर सरकार छलफलमा आउनुपर्यो।’