काठमाडौं– सरकारले विगतमा डा गोविन्द केसीसँग गरेका सम्झौता कार्यान्वयन गराउन नागरिक अगुवाहरुले ध्यानाकर्षण गराएका छन्।
सोलाडारिटी फर डा केसी अलायन्सले आज राजधानीमा गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै अधिवक्ता दिनेश त्रिपाठीले डा केसीसँग सम्झौता गरेर पनि कार्यान्वयन नभएको भन्दै गम्भीर धोकाढडी भएको बताए।
उनले दुई तिहाइको आडमा वर्तमान सरकारले लोकतन्त्रलाई समाप्त पार्न खोजेका आरोप लगाए। उनले प्रमले दुई तिहाइलाई माफियाको पोल्टामा समर्पित गरेको दाबी गरे। उनले भने, ‘अहिलेको स्थितिमा मौन बस्नु भनेको अपराध हो त्यसैले हामी बोल्नैपर्छ।’
त्यसैगरी प्रा कपिल श्रेष्ठले यस्तो खेलले लोकतन्त्रको विश्वसनियतामा नै प्रश्न उठेको बताए। उनले भने, ‘डा केसीलाई बेवास्ता गर्न खोजिएको छ, सायद यहाँ नाटक गरिँदैछ किनकी कमजोरहरुले नाटक नै गर्दछन्।’ उनले स्वतन्त्रता तथा मानवअधिकार साँघुरिँदै गएको बताउँदै झूठो बोल्ने प्रवृत्ति हाबी हुँदै गएको बताए। उनले सबैले आआफ्नो ठाउँबाट एक्येबद्धता जनाउन आग्रह गरे।
त्यसैगरी मानवअधिकारकर्मी कृष्ण पहाडीले डा केसीसँग सरकारले गरेका पूर्व सहमतिहरु कार्यान्वयन गर्न आग्रह गर्दै गिरफ्तारी अभियान चलाएको बताउँदै सबैले आआफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिए।
कार्यक्रममा डा केसीको जीवनरक्षाका लागि तत्काल पहल गर्न नागरिक अगुवाहरुले हस्ताक्षर गरी अपिल सार्वजनिक गरेका छन्।
अपिलमा भनिएको छः
‘डा गोविन्द केसी र नेपाल सरकारबीच सहमति हुने र तोडिने वा कार्यान्व्यन नहुने प्रक्रिया बारम्बार दोहोरिएको तथा त्यसै कारण डा केसी अहिले पनि १६ औँ सत्याग्रहको १६ औँ दिनमा रहेको र उहाँको जीवन जोखिममा परेको अवस्थाप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएकोे छ। १५ औँ सत्याग्रहमा सम्माननीय प्रधानमन्त्रीज्युको पहल र रोहबारमा भएको सम्झौताको इमान्दार कार्यान्व्यन गरी डा केसीको जीवन रक्षा सरकारलाई अपिल गर्दछौँ।’
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, महाविर पुन, लेखक कृष्ण धारावासी, अधिवक्ता दिनेश त्रिपाठी, डा रामेश कोइराला, प्रा कपिल श्रेष्ठ गरी ५३ जनाले अपिलमा हस्ताक्षर गरी डा केसीको जीवन रक्षाका लागि माग गरेका छन्।