काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले चिकित्सा शिक्षासम्बन्धी विधेयक प्रक्रियाअनुसार संसद्मा पेस गरिएको भन्दै उक्त विधेयक पास हुने बताएका छन्।
मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले यस्तो दावी गरेका हुन्।
‘सरकारले आफ्नो विधेयक संसदीय समितिमा पेस गर्यो,’ उनले भने, ‘समितिमा छलफल भयो र संसदमा पेस गरियो। यो अब संसद्को क्षेत्राधिकार बन्यो। आफ्नो प्रक्रियाबाट गएको छ। पास हुन्छ, फिर्ता लिने कुरा छैन।’
विधेयकमा मेडिकल कलेज खोल्न मापदन्डको अनिवार्यताको खोजी गरेको भन्दै उनले यो विद्यार्थीमुखी र जनतामुखी भएको दावी गरे।
‘विधेयक माफियामुखी भनेको पनि सुन्छु,’ उनले भने, ‘चुरो कुरोमा आउनुपर्यो । भिषण प्रलय आउने भयो भनेर हल्ला भएको छ। जनतालाई गुमराहमा पार्न पाइन्छ?’
उनले अनसनले विधेयक नबनाउने बताए। ‘अनसनहरुले कानुन बनाउने हो कि ऐतिहासिक जिम्मेवारी पाएको संसदले हो?’, उनले प्रश्न गरे।