काठमाडौं– प्रतिपक्षी दलको विरोधका बाबजुद चिकित्सा शिक्षा विधेयक बहुमतबाट पारित भएको छ। संसद बैठक सुरु हुनासाथ कांग्रेसका सांसदले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसद पुष्पा भुसाललाई बोल्न समय दिए।
संसदमा बोल्दै भुसालले सरकारले इतिहास मेट्ने काम गरेको आरोप लगाइन्। उनले भनिन्, ‘नेपाली कांग्रेसका नेता मात्रै होइनन्। राजनीतिक डिपार्चरका पनि हुनुहुन्छ। सरकारले निर्णय नसच्चाए, कांग्रेसले सहयोग गर्न सक्दैन।’
प्रचण्डको सरकारको समयमा न्याम्सलाई मनमोहन अधिकारीको नाममा तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले प्रस्ताव गरेको स्मरण गराइन्। उनले थपिन्, ‘मन्त्रिपरिषद्ले हटाएर ती नेताको नाम हट्छ र?’
'सत्तामा भएका दलले खोला तर्ने, लौरो बिर्सने हुन्छ?' उनले सरकारलाई प्रश्न गरिन्।
उनले सरकार दुई तिहाईले सञ्चालन भएपनि सदन दुई तिहाईले चलाउन नसकिने बताइन्। विगतप्रति स्मरण गराउँदै उनले भनिन्, ‘डा गोविन्द केसीको मागमा देउवा सरकारले अध्यादेशमार्फत गरियो। सरकारले सम्झौता अनुसार गर्न मिल्दैन भन्नु प्रधानमन्त्रीले भन्न मिल्छ?’
सरकारको जवाफदेहिता भएन भने प्रम'ख प्रतिपक्षले ख्याल गर्नुपर्ने उनले बताइन्। वेलसम्म जान पाउन प्रतिपक्षको अधिकार भएको जनाउँदै उनले भनिन्, ‘त्यो अधिकार हो। मर्यादा पालक अर्मादित भए।’ सभामुखलाई गलत नजिर नबसाल्न पनि सांसद भुसालले अनुरोध गरिन्।
कांग्रेसका दुई पूर्वसभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताललाई मन्त्रिपरिषदले निर्णय नसच्चाए प्रतिपक्ष दलले सहयोग गर्न नसकिने बताइन्। उनले भनिन्, ‘नेताका नाममा पुन: निर्णय गरियोस्।’
जब सुरु भयो नाराबाजी
सांसद भुसालले आफ्नो भनाइ राखिसक्नासाथ कांग्रेस सांसदहरुले नाराबाजी सुरु गरे। सभामुख कृष्णबहादुर महराले सदनको कारबाही नियमित गर्न अवरोध नगर्न पटकपटक आग्रह गरे । तर कांग्रेसका सांसदहरुले नाराबाजी रोकेनन्।
उनीहरुले संसदीय मर्यादा कायम गर, अधिनायकवादी शैली बन्द गर, यथास्थितिमा संसद चल्न सक्दैन, दुई तिहाईको दम्भ बन्द गर, मर्यादा पालकलाई मर्यादामा राख, जनताको नेताको अपमान बन्द गर, सरकारले सम्झौता लागू गर लगायतका नारा लगाएका थिए।
नारा लगाउँदै गर्दा सभामुखले प्रतिपक्ष दलको मागलाई सरकारलाई निर्देशन दिएको जानकारी गराए। उनले भने, ‘विरोध पर्याप्त पुगेको छ। संसदको कारबाही सुरु गर्न दिए संसदको सर्वोच्चता कायम हुन्छ।’
सभामुखले त्यसो भनिरहदाँ नेकपाका सांसदहरुले पर्रर्ररर ताली बजाइरहे।
सभामुखले नाराबाजीकै बीचमा विधेयक प्रक्रियामा लैजाने चेतावनी दिए। सभामुखको चेतावनी वेवास्ता गर्दैै प्रतिपक्ष नारामै बसेपछि सभामुख महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेलाई विधेयक पेस गर्न समय दिए।
संसदमा छलफल गरियोस् भन्ने प्रस्ताव राख्न शिक्षामन्त्री अघि बढेपछि केहीबेर मर्यादापालक र कांग्रेस सांसदबीच ठेलमठेल स्थिति पैदा भयो।
शिक्षामन्त्री पोखरेल मर्यादापालकको सुरक्षामा चिकित्सा विधेयक पेस गर्न वेलमा पुगे। त्यहाँ पुगेपछि उनले छलफलको प्रस्ताव पढेर सुनाए। लगत्तै सभामुख महराले त्यसलाई निर्णयका लागि पेस गरे।
सांसदहरुले आफ्नो धारणा राख्न नाम नटिपाएको भन्दै महराले प्रक्रियालाई थप अगाडि बढाए।
प्रतिपक्ष विरोधमा रहेकाले सत्ता पक्षका कुनै पनि सांसदले छलफलका लागि नाम टिपाएनन्। मन्त्री पोखरेलको प्रस्तावलाई निर्णयार्थ सभामुखले बैठकमा पेस गरिरहँदा कांग्रेस सांसदहरुको नाराबाजी चलिरहेको थियो। छलफलका लागि नाम नआएपछि दफावार रुपमा सभामुखले विधेयकलाई हुन्छ र हुन्न भनी बहुमतले पारित गराउनेतर्फ लम्के।
सभामुख महराले प्रस्तावना, नाम र दफा हुँदै समग्र विधेयक पारित भएको घोषणा गरे।
सभामुखले बहुमत विधेयक पारित भएको घोषणा गरेलगत्तै नेकपाका सांसदहरुले ताली बजाए। त्यसपछि सभामुखले संसद बैठक माघ १७ गते बस्नेगरी आजका लागि अन्त्य भएको घोषणा गरे।
उक्त विधेयक अब राष्ट्रियसभामा पुग्नेछ। त्यहाँबाट पनि पारित भए राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पुर्याइन्छ। राष्ट्रपतिले प्रमाणीकरण गरेलगत्तै राजपत्रमा सूचना प्रकाशित हुँदै यो ऐनका रुपमा लागू हुनेछ।