काठमाडौं- आज बिहान कोटेश्वरबाट अपहरणमा परेकी बालिकाको प्रहरीले सकुशल उद्धार गरेको छ।
बिहान साढे ८ बजेतिर कोटेश्वरस्थित घरबाटै अपहरणमा परेकी २ वर्षीया बालिका सन्दिज्ञा साहलाई प्रहरीले तिलगंगास्थित गणेश होटलबाट दिउँसो उद्धार गरेको हो।
उनी प्रसूतिगृहकी डा बबिता साहकी छोरी हुन्।
अपहरण गर्ने व्यक्ति जनकपुरका मनीषकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ। बबिताको घर पनि जनकपुर नै रहेको र उनका श्रीमान्ले गुप्तालाई माल्दिभ्स पठाइदिन्छु भनेर २ लाख ५० हजार लिएकाले त्यही रिसिबीका कारण अपहरण गरेको हुन सक्ने प्रहरीको अनुमान छ।
अपहरणकारी आज मात्रै जनकपुरबाट काठमाडौ आइपुगेका थिए।
अपहरण गरेपछि गुप्ताले जोरपाटीतिर घुमाएको र प्रहरीले खोजी गरेपछि होटलमा ल्याई छाडेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले बताए।
अपहरणकारी गुप्ता फरार गरेकाले उनको खोजी भइरहेको डिएसपी बोगटीले जानकारी गराए।