बहिरबाट सरसरर्ती हेर्दा जतिको सहज देखिन्छ, त्यतिकै जटिल छ नर्सिङ पेसा।
यस पेसासँग आबद्धहरूले सुरुमा निकै कठोर मिहिनेत र त्याग गरेका हुन्छन्।
सर्वप्रथम त एउटा सफल नर्स बन्नका लागि धेरै त्याग तथा तपस्या चाहिन्छ भन्ने कुरा बुझ्न जरुरी छ। लाखौँ पैसा खर्च गरी अध्ययन पूरा गरेपछि लाइसेन्स लिनुपर्छ। तर, लाइसेन्स प्राप्त गरेका नर्सहरु बेरोजगारीको समस्याले त्रसित नभएका पनि होइनन्।
सन् २०१९ सम्मको तथ्यांकलाई हेर्दा ८५ हजार ८ सय ८४ नर्सहरु नेपाल नर्सिङ कउन्सिलमा दर्ता भएका छन्। जसमध्ये ८ सय ४२ जना त विदेशीको संख्या छ।
मान्छे एक, रुप अनेक भनेझैं नर्स कसैकी छोरी, बुहारी, श्रीमती तथा कसैको प्राणप्रिय आमा हुन सक्छे। उनले विभिन्न भूमिकामा आफूलाई प्रस्तुत गर्नुपर्ने हुन्छ। त्यसमाथि दैनिक ड्युटी त छँदैछ।
एउटी सुत्केरी जब सानो बच्चालाई घरमा बोतलको दूधको भरमा छोडेर जागिरमा हिँड्छिन्। खोइ त्यो बच्चाको लागि पूर्ण स्तनपानको अधिकार? खोइ आमाको न्यानो काख?
नर्सको मुहारमा मात्रै खुसी हैन मनैदेखि खुसीको बीज रोपिनुपर्ने होइन र?
दिनरात भोकतिर्खा, निद्रा, चाडपर्व केही नभनी ड्युटीमा खटिनुको पीडा बेग्लै छ। यसमाथि नियम अनुसार पाउनुपर्ने पारिश्रमिक र आत्मसम्मान समेत नहुँदा कस्तो हुँदो हो, त्यो नर्सलाई मात्र थाहा हुन्छ।
दिनरात सेवा गरी ‘लेडी विथ द ल्याम्प’को उपाधि पाएकी नर्स कुनै देवीको रुपभन्दा पनि कम छैन।
नर्सहरुसँग सम्बन्धित थुप्रै मुद्दा छन्। तिनीहरुलाई समुचित ढंगबाट पार लगाई व्यवहारमा ल्याउनु ठुलो कुरा हो।
मौखिक रुपमा चर्को भाषण गरी विभिन्न आश्वासन देखाई आँखामा छारो राख्नु भनेको भ्रमको खेती गर्नु सिवाय केही होइन। तसर्थ यो वर्षको नर्सिङ दिवस सँगसगै नर्सिङ मुद्दा, माग तथा विभिन्न समस्याको व्यवस्थापन बुद्धिमत्तापूर्ण तवरले सम्पन्न होस्। नर्सिङ पेसामाथि भएको राजनीतिक हाबीको अन्त्य हुनुपर्छ। नर्सिङ पेसालाई सम्मान गरी उनीहरुलाई सेवाप्रति आकर्षित गराइराख्नुपर्छ। नर्स अस्पतालको बलियो खम्बा मेरुदण्ड नै हुन्। के नर्स बिनाको अस्पताल कसैले कल्पना गर्न सक्ला?
तसर्थ नर्सिङ पेसामा आलोचना गर्नुअघि समस्याको जड पत्ता लगाउनु जरुरी छ। नर्सको मुहारमा मात्रै खुसी हैन मनैदेखि खुसीको बीज रोपिनुपर्ने होइन र?
त्यसैले नर्सिङ पेसाका सबै समस्या हल भई उनीहरुबीच एकता आवश्यक छ।
नर्सहरुलाई साथ दिऔं, सम्मान र प्रोत्साहन दिऔं।
(स्टाफ नर्स, लमही अस्पताल, दाङ)